नेपाली महिलालाई शान्ति सेनामा पठाऊ : मुन

सुशील कोइराला र वान कि मुनवीच न्युयोर्कमा वार्ता

७ असार, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले विश्वाका विभिन्न देशको शान्ति मिसनमा खटिँदै आएका नेपाली सैनिकहरुको टोलीलाई लैंगिक हिसाबले सन्तुलित बनाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री कोइरालासँग भएको भेटमा महासचिव मुनले शान्तिस्थापनार्थ खटिने सेनामा महिलाको सहभागिता बढाउन जोड दिएका हुन् ।pm-sushil-कोइराला र मुनको भेटपछि न्युयोर्कस्थित नेपाली स्थायी मिसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘उनले -(मुनले) भने कि संयुक्त राष्ट्र संघ शान्ति सेनामा लैंगिक समानताका लागि प्रयास गरिरहेको छ र नेपालबाट अधिक महिला शान्ति सैनिकलाई प्रोत्साहित गरेका छन् ।’
नेपालबाट विश्वका विभिन्न देशमा खटिने शान्ति सैनिकमा महिला सैनिकले प्राथमिकता पाउने गरेका छैनन् ।
मुनले यसबारे कोइरालाको ध्यानाकर्षण गराएपछि अब यो विषय कार्यान्वयन हुने अवस्था आएमा नेपाली सेनामा कार्यरत नेपाली चेलीहरुले शान्ति मिसनमा सेवा गर्ने र राम्रो अर्थोपार्जन गर्ने अवसरको ढोका खुल्ने देखिएको छ ।
नेपालको राजनीतिक अवस्थाबारे छलफल
कोइराला र मुनवीचको भेटमा नेपालको राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाका विषयमा समेत छलफल भएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।
नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने चासो मुनले प्रधानमन्त्री कोइरालासँग राखेका थिए । कोइरालाले एकवर्षभित्र तोकिएको समयमै संविधान बन्ने महासचिव मुनलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री कोइरालाले नेपालको संक्रमणकालीन न्याय एवं सत्य निरुपण तथा मेलमिलाप आगोग गठनबारे भइरहेको प्रगतिका विाष्यमा पनि मुनलाई जानकारी गराएका छन् । दोषीलाई आम माफी दिने गरी ऐन नबनाइएको कोइरालाले मुनलाई स्पष्ट पारेका थिए ।
भेटमा महासचिव मुनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपालमा भइरहेको संविधान निर्माण एवं शान्ति प्रक्रियाका कामहरुको प्रशंशा गरेका थिए । मुनले कोइलालाको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए । प्रधानमन्त्री कोइरालाले नेपालको पर्यटन संस्कृति लगायतका विकासको सम्भावनाबारे मुनलाई बताउँदै नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।
क्यान्सरको उपचारका लागि अमेरिका पुगेका बेला प्रधानमन्त्री कोइरालाले महासचिव मुनसँग भेटवार्ता गरेका हुन् । नेपाली समय अनुसार शनिबार बिहानको राति अर्थात् अमेरिकी समयअनुसार शुक्रबार अपरान्ह भएको भेटमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दूर्गाप्रसाद भट्टराई,  उपमहासचिव ज्ञानचन्द्र आचार्य, नियोगकी उपप्रमुख सेवा लम्साल अधिकारी र प्रधानमन्त्रीकी सहयोगी मृदुला कोइरालासमेत सहभागी रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी मिसनले जनाएको छ ।
onlinekhabar भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.