हटाइएका रमेश खरेल भन्छन् – अहिले केही भन्दिन..

काठमाडौ, जेठ १३ – पदीय मर्यादा विपरित अभिव्यक्ति दिएको अभियोगमा सरुवामा परेका काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले यसबारे केही नबोल्ने बताउनुभएको छ ।

‘मेरो केही प्रतिक्रिया छैन, अहिले केही भन्दिन’ उज्यालो अनलाइनको जिज्ञासामा खरेलले भन्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी खरेललाई सोमबार प्रहरी मुख्यालयले हटाएको हो । गृह मन्त्रालयको दबाबमा उहाँलाई प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा खरेलले एआईजी बढुवाका लागि डीआईजीहरु पैसाको ब्रिफकेस बोकेर नेता र मन्त्रीको घरघरमा धाइरहेको भन्दै त्यस्तालाई बढुवा गर्न नहुने अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिबारे छानबिन गर्न डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भैसकेको छ ।

काठमाडौंमा डन र गुन्डा तह लगाउन अपरेसन अभियान सुरु गरेपछि केही नेता र उच्च प्रहरी अधिृकत खरेलप्रति रुष्ट थिए । गृहमन्त्री बामदेव गौतमले त आफूलाई भेट्न नआएको भन्दै सार्वजनिक कार्यक्रम मार्फत नै खरेलप्रति असन्तुष्टी जनाउनुभएको थियो ।

खरो अभिव्यक्ति दिने खरेललाई निडर र स्वच्छ प्रहरी अधिकृतको रुपमा चिनिन्छ । चर्चा कमाउन मिडियाबाजी गर्ने गरेको आरोप पनि उहाँमाथि लाग्ने गर्छ । काठमाडौ प्रहरी प्रमुखबाट खरेललाई हटाएर त्यस ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई ल्याइएको छ । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.