राजनैतिक दबाबमा बलत्कारको घटना एक लाख रुपैयाँमा मिलाइयो

खोटाङ  । खोटाङमा ४० वर्षीया एक दलित महिलालाई बलत्कार गरेको घटना राजनैतिक दबाबमा रकम लेनदेन गरेर मिलापत्र गरेको खुलासा भएको छ । फागुन–२५ गते राती पीडित महिलाकै घर पुगेर बलत्कार गरेको आरोपमा २९ गते पक्राउ परेका सप्तेश्वर–८ का १७ वर्षीय सन्देश राईलाई एमाले समर्थक नेताहरुको दबाबमा पीडितलाई २० दिनभित्रमा एक लाख रुपैयाँ दिने र जग्गासमेत पास गरिदिने शर्तमा मिलापत्र गरेको खुलासा भएको हो ।

मिलापत्र गरिएपछि पक्राउ परेका राईलाई आठ दिनसम्म प्रहरी हिरासतमा राखिएपनि अनुसन्धानै नगरी छाडिएको बुझिएको छ । उनलाई म्याद थप नै नगरी आठ दिनसम्म थुनामा राखेर बिहीबार साँझ छाडिएको थियो ।

पीडित महिला जिल्ला प्रहरी कार्यालय खोटाङमा उपस्थित नभएपछि आरोपित विरुद्ध कानूनी कारबाहीको प्रक्रिया अघि नबढाई छाडिएको प्रहरी नायव निरीक्षक यादव गौतलले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पीडित महिलाको तर्फबाट इलाका प्रहरी कार्यालय बाक्सिलामा परेको ठाडो उजुरीको आधारमा आरोपितलाई पक्राउ गरेका थियौं, पीडित नै नआएपछि आठ दिनसम्म हिरासतमा राखेर अनुसन्धानै नगरी छाडि दियौं ।’

श्रोतका अनुसार पीडित महिला सदरमुकाम दिक्तेलसम्म आएपनि आरोपित पक्षले प्रहरी समक्ष पुग्न नदिइ मिलापत्र गराएर बाटैबाट फर्काई दिएको हो । यसबारेमा आफूहरु समक्ष कुनै जानकारी नआएको पारालिगल समितिका जिल्ला सचिव डिल्लीकुमारी आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पीडितले न्याय र पीडकलाई कारबाही हुनुपर्छ, अन्यथा पीडितलाई सम्बन्धित निकायसम्म पु¥याउन हामी मद्दत गर्छौं ।’

आरोपित थर्पुडाँडा मावि सप्तेश्वरका शिक्षक नरेश राईको छोरा भएकाले पीडित पक्षसँग छलफल गराइ मिलापत्र गराएको श्रोतले जनाएको छ । पीडितलाई एक लाख रुपैया भने, सोही स्थानका खगेन्द्र राईले दिने शर्तमा मिलापत्र भएको खुलासा भएको छ ।


श्रोतका अनुसार मिलापत्रमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुमार आचार्य, सप्तेश्वर गाविस निवासी एमालेका कार्यकर्ता माइतीराज राई, नरेश राईलगायत नेता कार्यकर्ताहरु संलग्न रहेको बुझिएको छ । आचार्यले भने, आफू उक्त छलफलमा सहभागी नभएको प्रतिक्रिया दिनुभएको छ ।
यसमा जिल्लाका अन्य राजनीतिक दलहरुले भने, पीडितले न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

 watch video

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.