काठमाडौं, फागुन २७ - गायिका इन्दिरा जोशीको पछिल्लो पटक सार्वजनिक ‘जाउ कि नजाउँ, पाउँदिन जवाफ, हातमा छ भिसा’ बोलको गीतमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ ।
इन्दिराको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीतको म्युजिक भिडियो मा पनि उनैले अभिनय गरेकी छिन् ।
गायनसँगै नृत्यमा पनि रुची राख्ने इन्दिराले यो म्युजिक भिडियोमा ‘कटेम्प्रोरी’ नृत्य गरेकी छिन् । इन्दिराले नृत्य गर्दा लगाएको लेहेंगामा भने राष्ट्रिय झण्डालाई प्रयोग गरिएको छ । (पुछारमा रहेको भिडियोको १ मिनेट २५ सेकेन्डपछिको दृष्य हेर्नुहोस ।)
भिडियोमा इन्दिरलाई मोडलिङमा पल साह र सुमन भट्टराईले साथ दिएका छन् । यो भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । राष्ट्रिय झण्डा राखेर उत्तम बनेपालीले यो लेहेंगा डिजाइन गरेका हुन् । कानुनत राष्ट्रिय झण्डालाई शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा प्रयोग गर्न पाइँदैन ।
गीतको म्युजिक भिडियो निर्देशन गरेका चन्द र इन्दिराले लगाएको कपडा डिजाइन गर्ने बनेपाली दुवै जना अपमान हुने गरेर लेहेंगामा झण्डा नराखिएको दावी गर्छन् । निर्देशक चन्दले गीतको शब्द र मर्म अनुसार राष्ट्रिय झण्डा प्रयोग गरिएको बताए । आफूले भिडियोमा झण्डालाई लत्रिएको र खुट्टा छोएको अवस्थामा नदेखाएको भन्दै चन्दले नियम अनुसार झण्डालाई छातीमाथि नै राखेको बताए । म्युजिक भिडियो रिलिज भएलगत्तै केही साथीले झण्डाको प्रयोग बारे कुरा उठाएको सुनाउँदै चन्दले आफूले यसबारेमा कानुनका जानकार आफन्तसँग सल्लाह गरेको बताए । ‘उहाँहरु (कानुनका जानकार)ले झण्डा छातीमाथि भएकाले यसले दुरुपयोग भएको मानिँदैन, ठिक छ भन्नुभयो’ चन्दले भने ‘त्यसैले यसमा कसैको आपत्ति नहोला ।’
नेपालीहरुको विदेश जानु पर्ने पीडा, राष्ट्रियता र शान्तिलाई फ्युजन गराइएकोले राष्ट्रिय झण्डाको प्रयोग गरिएको बनेपालीको भनाई छ । ‘झण्डा लेहेंगामा बनाएको होइन’ डिजाइनर बनेपालीले भने ‘त्यो त छुट्टै कपडामा बनाइएको हो ।’ आफूले पहिल्यै गीत सुनेर त्यसैको मर्म अनुसार ड्रेस डिजाइन गरेको पनि उनले बताए ।
विभिन्न ड्रेस डिजाइन प्रतिस्पर्धाहरुमा निर्णायकको रुपमा समेत रहिसकेका बनेपालीले त्यस्ता प्रतिस्पर्धामा निर्णय गर्दा राष्ट्रिय झण्डा, देवी देवताका तस्बिरहरुको सही र गलत प्रयोगलाई आधार मान्ने गरेको बताए । ‘राष्ट्रिय झण्डा र देवी देवताको तस्बिरको अपमान गरेर कुनै पनि डिजाइन गरिनु हुन्न’ बनेपालीले भने ‘त्यसमा म एकदम सचेत छु ।’
0 comments
Write Down Your Responses