साथी खसेर मृत्यु भएको भोलिपल्ट थाहा भयो
मापसे गरेर मोटरसाइकल चलाएका एक व्यक्तिले पछाडि बस्ने साथी खसेर मृत्यु भएको भोलिपल्ट मात्र थाहा पाए । गत आइतबार राति कीर्तिपुरको पाँगामा किशोर मालीको मोटरसाइकलमा पछाडि बसेका श्याम अधिकारीको बाइकबाट खसेर मृत्यु भएको छ । तर, मालीले भोलिपल्ट मात्र मृत्युको खबर थाहा पाए ।
मापसे गरेर बाइक कुदाएका मालीले साथी खसेको चालै पाएनन् । उनी गम्भीर घाइते भएका साथीलाई सडकमै छाडेर आफ्नो घरतर्फ लागे ।
मालीकै घरमा बसेर दुवैजनाले मदिरा पिएका थिए । बेलुका अधिकारीलाई घर पुर्याउन उनी आफैँ बा.३३ प ६५३५ नम्बरको मोटरसाइकल लिएर गएका थिए । अत्यधिक गतिमा रहेको उनको मोटरसाइकल पाँगाको अपांग तालिम केन्द्रनजिकै मोडमा अनियन्त्रित बनी लड्न पुग्यो ।
पछाडि रहेका अधिकारी पर्खालमा ठोक्किएर करिब १० मिटरसम्म घस्रिएर खसे । मालीलाई पनि सामान्य चोट लाग्यो । घाइते साथीलाई अस्पताल पुर्याउनुपर्छ भन्ने चेतसमेत उनमा भएन । माली त्यहीँबाट आफ्नो घरतर्फ लागे ।
करिब डेढ घन्टापछि अधिकारीलाई घाइते अवस्थामा भेटी प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्यायो । अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी केदार खनालले बताए । मालीलाई पक्राउ गरी प्रहरीले थुनामा राखेको छ । उनलाई सवारी ज्यान मुद्दा चलाइएको डिएसपी खनालले बताए ।
माली र अधिकारी दुवैजना बच्चादेखिकै साथी हुन् । तर, मदिरा पिएर सवारी चलाउँदा दुवैजनाको दोस्ती सदाका लागि टुटेको छ । त्यही कारण एकजनाको मृत्यु भयो भने अर्का प्रहरी हिरासतमा पुगेको नयाँ पत्रिकाले लेखेको छ।
राति मदिराको नशामै घरमा सुतिरहेका वेला मालीलाई प्रहरीले पक्राउ गर्यो । सुरुमा उनले त्यसबारे थाहा नभएको बताएका थिए । पछि, अधिकारीले नै मोटरसाइकल चलाएको र दुर्घटना भएको भनेर ढाँट्न खोजेका थिए ।
तर, मोटरसाइकल चलाउने व्यक्ति कसरी हुत्तिएर अगाडि लड्छ भनेर प्रहरीले प्रश्न गरेपछि उनले आफूले नै मोटरसाइकल चलाएको कुरा स्वीकार गरेका थिए । नशामा रहेकाले साथीलाई अस्पताल लैजाने सोच नआएको उनले बताएका छन् ।
डेढ घन्टापछि प्रहरीले भेट्दा अधिकारीको मृत्यु भइसकेको थिएन । ‘समयमै अस्पताल पुर्याइएको भए उनको ज्यान बच्न सक्थ्यो,’ कीर्तिपुर वृत्तका डिएसपी खनालले भने । टाउकोमा चोट लागेका अधिकारीको शरीरबाट धेरै रगत बगेकाले मृत्यु भएको थियो ।
यस्ता दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुई वर्षयता मादकपदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्दै आएको छ । मापसे गरी सवारी साधन चलाउँदा ट्राफिक प्रहरीले बीचमै नियन्त्रणमा लिई एक हजार रुपैयाँ जरिवाना, अनिवार्य ट्राफिक शिक्षा र लाइसेन्समा प्वाल पार्दै आएको छ ।
उपत्यकामा दुई वर्षको अवधिमा एक लाख २० हजार सवारी चालक यस्तो कारबाहीमा परिसकेका छन् । तर पनि, मादकपदार्थ सेवन गरी सवारी चलाउनेहरू घटेका छैनन् । ट्राफिक महाशाखाका अनुसार दैनिक डेढ सयभन्दा बढी मापसे कारबाहीमा पर्ने गरेका छन् । watch video
0 comments
Write Down Your Responses