क्रिकेटरलाई शुभकामना दिन सभामुखको रोक
काठमाडौं, चैत ७ - संसदमा विस्तारै क्रिकेटको माहौल बन्दै थियो । त्यतिकैमा समय मागेर बोल्ने क्रम पनि सकियो ।
शुक्रवारको बैठकमा शून्य समय र विशेष समय हटाइएको थियो । बैठक कार्यसूचिमा प्रवेश गर्यो । निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयकमाथि सामान्य छलफल शुरु भयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् सुबोध पोख्रेल रोष्टममा जानुभयो ।
‘विश्वकप क्रिकेटमा नेपालले गरेको प्रदर्शन प्रति...’ भन्न पनि नपाउँदै सभामुख सुवासचन्द्र नेम्वाङ्गले पोख्रेललाई अवरोध गरिहाल्नुभयो ।
‘माननीय सदस्य विषय प्रवेश गर्नुस्’ नेम्बाङले भन्नुभयो ।
सभामुखको अवरोधयुक्त बोली टुङ्गिन नपाउँदै सभासद् पोख्रेलले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय म विषयमै आउँदैछु ।’
‘माननीय सदस्य तपाईलाई जुन विषयका लागि समय दिइएको हो त्यही प्रयोग गर्नुस्, अन्यथा त्यो समय पनि कटौती होला’ चेतावीको शैलीमा नेम्बाङले भन्नुभयो ।
‘सभामुख महोदय नेपाली क्रिकेट खेलाडीले गरेको यत्रो प्रगतिप्रति मेरो पार्टीको तर्फबाट शुभकामना दिन पनि नपाउनु ? शुभकामना र धन्यावाद दिन पनि नपाउने हो भने म जान्छु’ सभासद् पोख्रेलले घुर्की लगाउनु भयो । त उहाँको त्यो घुर्कीले कुनै काम गरेन ।
‘माननीय सदस्य तपाई एउटा कुरामा प्रष्ट हुनोस्, तपाईलाई जुन समय पर्याप्त छ त्यो समयमा त्यही विषयसँग सम्बन्धित रहेर समयको सदुपयोग गर्नुस्’ नेम्बाङले दोहोर्याउनुभयो ।
तर सभासद् पोख्रेलको मन खिन्न भएको थियो । क्रिकेट खेलाडीलाई शुभकामना नदिई उहाँलाई अघि बढ्न मनै थिएन । उहाँले विधेयकका बारेमा बोल्नुभन्दा खेलाडीलाई शुभकामना दिनु महत्वपूर्ण ठान्नुभयो । शून्य समय र विशेष समय पनि नपाएकाले विधेयक माथिको छलफलको समयलाई उहाँले सदुपयोग गर्ने मनस्थितिमा हुनुहुन्थ्यो ।
तर कति गर्दा पनि बोल्नै नपाए पछि आक्रोसित हुँदै व्यंग्यात्मक शैलीमा सभासद् पोख्रेलले भन्नुभयो, ‘सभामुख महोदय समयको विभाजन पनि सहि तरिकाले होस् । धन्यवाद ।’
यति भन्दै उहाँ विधेयकमाथि बोल्न पाएको समय पनि सदुपयोग नगरी रोष्टमबाट विदा हुनुभयो । लगत्तै सभामुख नेम्वाङ्गले अर्का सभासद्को नाम बोलाउनुभयो ।
व्यवस्थापिका संसदमा खेलकुद सम्बन्धी विषयले खासै महत्व पाउँदैन । पाइहाल्यो भने पनि खेलकुद राम्रोसँग बुझेको र खेललाई माया गर्ने सभासद्ले अक्कलझुक्कल कुरा राख्छन् । यसअघि फागुन २ गते ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले हङकङमाथि ८० रनको सान्दार जित हात पारेको भोली पल्ट बसेको संसद बैठकमा बोल्ने २५÷३० जना सभासद्मध्ये एमालेका केशव बडालले मात्र नेपाली क्रिकेटलाई सम्झनुभयो र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभयो ।
फागुन ४ गते भएको खेलमा नेपालले टेष्ट क्रिकेट खेलेको राष्ट्र बंगलादेशलाई आच्छुआच्छु पार्यो । ५ विकेट गुमाएर १ सय २६ रन बनाएको नेपाललाई बंगलादेशले १५ ओभर २ बलमा २ विकेट गुमाएर लक्ष्य भेटायो । बिहीबार भएको तेस्रो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी अफगानिस्तानलाई ९ रनले पराजित गरेर लगातार ट्वान्टी ट्वान्टी क्रिकेटमा ६ पटकसम्म भोगेको पराजयको बदला पनि विश्वकप क्रिकेटबाटै लियो । यो नेपालका लागि चानचुने विजय थिएन । तर संसद बैठकमा ४ जनाको नजरमा मात्र नेपालको विश्वकप क्रिकेट रह्यो ।
बैठकको सुरुमै समय मागेर नेपाली कांग्रेसका सभासद् रमेश लेखकले खेलाडीलाई सम्मान प्रकट गर्न सरकारले कन्जुस्याँई गर्न नहुने बताउनुभयो ।
यस्तै एमालेका राजेन्द्र पाण्डेले पनि सरकारले उचित सम्मान प्रकट गर्नु पर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘नेपाली क्रिकेट खेलाडीले अन्तराष्ट्रिय क्षेत्रमा सान्दार खेल पस्केका छन्,’ पाण्डेले भन्नुभयो, ‘सिंगो संसदको तर्फबाट उहाँहरुलाई बधाई छ, यो देशले गौरव गर्ने अवस्था बनेको छ । जसलाई सरकारले उचित सम्मान प्रकट गरोस् भन्ने माग गर्न चाहन्छु ।’
तराई मधेस सदभावना पार्टीका नरेन्द्र साह कल्वारले प्रयाप्त श्रोत साधनको अभावमा पनि राष्ट्रको नाम राख्ने खेलाडीलाई सम्मान सहित भौतिक पूर्वाधार र साधन श्रोतमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । कल्वारले अभावै अभावको बीचमा जन्मेका प्रभावशाली प्रतिभालाई राष्ट्रिय सम्मानका साथ स्वागत गर्न सम्बन्धित सबै निकायसँग माग गर्नुभयो ।
उहाँले श्रोत साधन, खेल मैदान र खेडालीहरुको व्यवस्थापन जस्ता महत्वपूर्ण कुराहरुमा राज्यले ध्यान दिन नसकेको भन्दै अभावका बाँवजुत पनि सफलता र राष्ट्रको गौरवलाई माथि उठाउने काम गरेको बताउनुभयो । सभासद् कलवारले अवका दिनमा यस्ता महत्वपूर्ण विषयमा ध्यान दिन पनि सरकारसँग माग गर्नुभयो ।
‘खेलाडी भनेका राष्ट्रका गहना हुन्, ती गहनालाई जति सहि तरिकाले प्रयोग र रक्षा गर्न सकिन्छ त्यति नै हाम्रो राम्रो सुन्दर शान्त नेपाल बन्छ, सभासद् कलवारले भन्नुभयो, ‘राज्यको वेवास्ताका कारण ती प्रतिभा जन्मिन नपाउँदै तुहिन्छन् ।’
बोमलाल गिरी/उज्यालो watch video
0 comments
Write Down Your Responses