सेक्स र एक्लो जीवनमा दोस्रो सम्बन्ध::::: जानकारी
म अहिले ३५ वर्षको हुन लागें । कामको सिलसिलामा ५ वर्ष विदेशमा बसेर ३ वर्षअघि नेपाल फर्किएको हुँ । जुन उत्साह र उम²ले नेपाल आएको थिएँ तर जीवन त्यसअनुसार चल्न सकेन । यस दौरानमा श्रीमती र मेरो बीचमा धेरै भिन्नता आइसकेको पाएँ । उनी कसैसँग अलि नजिक भइसकेकी रहिछन् । सधैँ झगडामा जीवन बिताउनु राम्रो लागेन र सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाइयो अनि गतवर्ष औपचारिकरूपमै सम्बन्धविच्छेद गरियो । मेरो १२ वर्षको छोरा र ९ वर्षकी छोरी छन् । अहिले दुवैलाई होस्टेलमा राखिदिएको छु र उनीहरूको पढाइ पनि राम्रै छ । सम्बन्धविच्छेद गरिसकेकी श्रीमतीबारे मलाई कुनै चासो नहुनुपर्ने हो, तर पनि नरमाइलो लाग्छ र सम्झन पुग्छु । उनी जोसँग नजिकिएकी थिइन् उसैसँग विदेश गएकी थिइन् । अहिले सुनें कि विवाह पनि उसैसँग गरिसकिन् अरे ।
म नेपाल फर्केदेखि नै हामी श्रीमान्–श्रीमती सँगै बस्न नसक्ने स्थितिमा पुगी छुट्टाछुट्टै बस्न थालेका थियौं । यो कुराले परिवारका सदस्यले अर्को विवाह गर्न जोड गरेका थिए । सन्तानका लागि नै मैले अर्को विवाह गर्ने सोच बनाएको थिइनँ । त्यसैले सो कुरा इन्कार गर्दै आएको थिएँ । तर अहिले केही समययता एक महिलासँग नजिक हुन पुगेको छु । उनी पनि एकल महिला हुन्, यस्तै २ वर्षपहिले श्रीमान् एक दुर्घटनामा परी बितेका रहेछन् । त्यसैले उनीसँग विवाह गर्ने सोच बनाएको छु । मुख फोरेर प्रस्ताव राखेको त छैन तर मलाई विश्वास छ– उनले नकार्नेछैनन् । के गर्ने भनेर मनमा धुकचुक भने भइरहेको छ । अबको वैवाहिक सम्बन्धलाई सफल बनाउन चाहन्छु । यसका लागि उचित सुझावको अपेक्षा गर्दछु । – जयबहादुर कार्की
जवाफ:- आदर्श संसारमा पुरुष र महिला विवाहबन्धनमा बाँधिएपछि जन्म–जन्मान्तरको लागि एक–अर्कामा समर्पित हुने र त्यसलाई निरन्तरता दिने गर्छन् । तर यथार्थ यस्तो छैन । अनेक कारणले गर्दा जति नै बाचा गरिएको भए पनि यी सम्बन्धहरू स्थायीरूपमा रहन सक्दैनन् । विभिन्न कारणले वैवाहिक जोडीहरू छुटिन्छन् वा पारपाचुकेको स्थितिमा पुग्छन् । कतिको लागि एकल जीवनको निरन्तरता रोजाइ हुन सक्छ भने कति जनाले फरक किसिमको विकल्प रोज्ने गर्छन् । यस्तो परिस्थितिमा दोस्रो विवाह धेरैका लागि उपयुक्त विकल्प हुन सक्छ । अहिले समाजमा भएको परिवर्तनले नेपालमा पनि दोस्रो विवाह गर्नुपर्ने धेरैका लागि आवश्यकता भएर आएको छ ।
पुरुषले पहिलेदेखि नै बहुपत्नी विवाह गर्ने चलन रहेको थियो । त्यस अर्थमा कतिपय पुरुषको दोस्रो विवाह हुने गरेको देखिन्छ र त्यसलाई अनौठो किसिमले हेरिने गरेको पाइँदैन । आज हामीले त्यस अर्थमा नभई वैवाहिक सम्बन्ध गाँस्न चाहने जोडी दुवैको दोस्रो विवाहको कुरामा छलफल गर्ने गरेका छौं । सबैलाई थाहा भएकै कुरा हो कि पहिलो विवाह त सरल र सहज हुँदैन भने दोस्रो विवाह पहिलो विवाहभन्दा धेरै जटिल हुने गर्छ, त्यो पनि विशेष गरेर पुरानो सम्बन्धको अवशेष, सन्तान, सम्पत्तिजस्ता कुराका साथै यौनजीवनका सन्दर्भले जटिलता थप्छ ।
पहिले अन्य व्यक्तिसँग विवाह गरेर अहिले दोस्रो विवाहको चरणमा पुग्नु आफैँ नै सरल विषय वा निर्णय होइन, त्यसमा पनि विवाह गर्ने कुरा गरे पनि के ठीक व्यक्तिसँग विवाह गरियो त ? भन्ने प्रश्न अहम् हुन्छ । हामीलाई थाहै छ– प्रत्येक व्यक्ति फरक–फरक स्वभावका हुन्छन् । त्यसलाई राम्ररी आत्मसात् गर्न सक्नुपर्छ । यसै सन्दर्भमा एक महत्वपूर्ण कुरा के भनौं भने, जहिले पनि पहिलेको सन्बन्ध किन बिग्रियो भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । ती कुराहरू पुनः आउन थालेमा अहिलेको सम्बन्धलाई पनि नकारात्मक असर पर्छ नै ।
जीवन साथीको पुनः छनोट र सम्बन्ध स्थापना
सम्बन्धविच्छेद वा जोडीमध्ये एकको मृत्युका कारण एक्लो भएको स्थितिमा छुट्टै किसिमको पीडा हुने गर्छ । सो पीडाको तीव्र असर भएको बेलामा वा उतारचढावको स्थितिमा निर्णय गर्दा सही निर्णय नहुन पनि सक्छ । त्यस्तो भावनात्मक उतारचढावको स्थिति पार गरेपछिको स्थितिपछि मात्र सोच विचार गरेर नयाँ सम्बन्ध स्थापनातिर लाग्नुपर्छ । कहिलेकाहीँ भावनामा बगेर निर्णय गर्दा पर्याप्त विचार पुग्दैन र सम्बन्ध दीर्घकालीन नहुन सक्छ वा फेरि पछुताउनुपर्ने स्थिति आइपर्न सक्छ ।
पुनःनयाँ सम्बन्ध स्थापित गर्दा पर्याप्त समय बिताउने गर्नुपर्छ ताकि एक–अर्कालाई चिन्न सकियोस् । आफ्नो सोचविचारको बारेमा सम्भावित जोडीलाई थाहा दिने मात्र होइन, उनको भावी जीवनप्रति सोचविचार पनि आफूले थाहा पाउन सकियोस् । नयाँ व्यक्तिसँग सम्बन्धको सुरुवात गर्दा सीमित देखादेख वा अन्य व्यक्तिले भनेको कुरा वा सल्लाहमा मात्रै भर गर्नु बुद्धिमानी हुँदैन । दुवै जनाले एकान्तमा पर्याप्त समय बिताउने गर्नुपर्छ ताकि सबै कुरा खुलेर गर्न सकियोस् ।
मिल्ने साथीको खोज गर्दा आफ्नो चाहनाअनुरूप मात्रै होइन उसको चाहनालाई पनि विचार गर्नुपर्छ । यसैको लागि एक हदसम्म कम्प्रमाइज गर्न पनि सिक्नुपर्छ । आफ्नो कुरा जोडीलाई लाद्ने मात्र गर्नु उचित हुँदैन । आफ्ना अपेक्षाहरू पनि भन्ने गर्नुपर्छ । आफ्नो विचार व्यक्त गर्नुपर्दा वा विगतका बारेमा भन्नुपर्दा इमानदारी देखाउनु आवश्यक हुन्छ, जसले गर्दा सुरुमा नमीठो भए पनि विश्वास बढ्ने गर्छ । जति नै विषम परिस्थिति भए पनि पहिले नै छलफल गर्ने गर्नुपर्छ । यस्ता कुरा पछिको लागि राख्दा त्यसले समस्या जन्माउन सक्छ । यस्ता छलफलमा कानुनी कुरा, सम्पत्तिको बाँडफाँड, घर तथा अन्य खर्चको व्यवस्थापन, सन्तानको हेरचाह आदि सक्दो विषय समेट्नुपर्छ । विवाह गर्ने निर्णय गरेपछि दुवैको लक्ष्य आफ्ना सपनाहरू बाँडचुँड गर्ने, एक–अर्काको सपना पूरा गर्न सहयोग गर्ने किसिमको हुनुपर्छ ।
दोस्रो वैवाहिक जीवनलाई कसरी सुखी बनाउने ?
यसका लागि शायद सबैभन्दा मुख्य कुरा सम्बन्धप्रतिको प्रतिबद्धता चाहिन्छ । यो कुरा पक्कै हो कि यौनसम्पर्कलाई उचित प्राथमिकताका साथ राखिएको हुनुपर्छ । दुवैका लागि पहिलेको सम्बन्धको आफ्नै महत्त्व हुन सक्छ तर त्यसलाई भन्दा अहिलेको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ । वर्तमान सम्बन्ध वा विवाह भइसकेपछि श्रीमती वा श्रीमान् एकले अर्कोलाई सक्दो महत्त्व दिने गर्नुपर्छ । श्रीमान् वा श्रीमती वा आफ्नो जोडीलाई मात्र होइन, उनका सन्तानलाई पनि त्यसरी नै महत्त्व र प्राथमिकता दिनुपर्छ । विचार गर्नुस्– दोस्री श्रीमती वा श्रीमान् हुँदैमा त्यसको महत्त्व दोस्रो दर्जाको हुँदैन ।
विवाह गर्नुअघि वा विवाहपछि एक–अर्काको आवश्यकतालाई ध्यान दिनुस् । यसको पहिचान गर्न कुराकानी गर्नु नै उत्तम उपाय हो । यी कुराले आत्मसम्मानका साथै आर्थिक तथा सामाजिक सन्दर्भका आवश्यकतालाई परिपूर्ति गर्न सजिलो बनाइराख्छ । सम्बन्धलाई बलियो बनाउन मायाको प्रदर्शन गर्नुपर्छ । आफूले वास्ता गर्छु अर्थात् केयर गर्छु भन्ने कुराको उचित प्रदर्शन पनि गर्नुपर्छ । आफूलाई मात्र मन पर्ने कार्यमा नभई दुवैलाई मन पर्ने कार्यमा संलग्न हुने गर्नुपर्छ ।
पुरानो सम्बन्धको व्यवस्थापन
अर्को महत्त्वपूर्ण कुरा, नयाँ सम्बन्धलाई मात्रै होइन पुरानो सम्बन्धलाई पनि व्यवस्थित गर्नु अति महत्त्वपूर्ण हुन्छ । यस पुरानो सम्बन्धलाई व्यवस्थापन गर्न नसकिएको स्थितिमा शायदै यो सम्बन्ध पनि असफल हुन्छ । पुराना कुरालाई कोटइउँदा नकारात्मक असर पर्न सक्छ । परिस्थिति हेरी दम्पतीबीच खुलारूपमा कुरा गर्न सकिए राम्रो हो ।
दोस्रो विवाह भएको हुनाले दुवै वा एक जनाको पक्कै पनि पूर्वविवाहित जीवनका अनुभव हुने स्थिति रहन्छ । एकातिर यो नयाँ सम्बन्ध धेरै अर्थमा रोमाञ्चक भए पनि अर्को अर्थमा धेरै नै फरक र चुनौतीपूर्ण हुन सक्छ । वास्तवमा कुनै पनि सम्बन्धजस्तै यो सम्बन्ध पनि एक अर्थमा लगानी हो भन्ने ठानेर त्यसलाई भरपूर पोषण गरिनुपर्छ । पुराना कुरा अहिलेको जीवनमा हाबी हुन नदिनु महत्त्वपूर्ण हुन्छ । दुवैका केही सुखमय र केही पीडायुक्त पल हुन्छन् नै । यी सबैको व्यवस्थापन महत्त्वपूर्ण मानिन्छ ।
पुरानो सम्बन्धको सन्दर्भमा भएका उपहार वा चिनो, गीत–संगीत, परिकार, पहिरनजस्ता कतिपय कुरामा तपाईंले कत्तिको महत्त्व दिनुहुन्छ भन्ने कुराले यस सम्बन्धमा धेरै नै महत्त्व राख्छ । यस्ता कुराले अहिलेको सम्बन्धमा कतै असजिलो त पारेको छैन भनेर ध्यान दिनुपर्छ । यस्ता कुराले नरमाइलो मात्र होइन, शंका–उपशंका पनि उब्जाउन सक्छ ।
कतिपय स्थितिमा पहिलेको पति वा पत्नी वा उनका सन्तान वा नातेदारलाई भेट हुने स्थिति नै नरहेको हुन सक्छ, तर सबैको लागि सधैँभरि यो कुरा सम्भव छैन । पुरानो पति वा पत्नीसँग कुराकानी वा भेटघाट हुन्छ भने त्यस परिस्थितिमा के–कस्तो व्यवहार गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । कुनै पनि स्थितिमा अनावश्यकरूपमा शंका उब्जने ठाउँ दिनुहुँदैन । पुरानै साथीका माझ रहँदा पुराना याद पर्याप्त आउने र पुराना कुरा उप्कने स्थिति हुन्छ । पुराना साथीसँगको भेटघाटलाई पूरै बन्द गर्न त नसिकएला तर नयाँ साथी बनाएको सन्दर्भमा दुवैको विवाहको इतिहासले अनावश्यकरूपमा घुस्ने मौका पाउँदैन । यी प्रत्यक्ष कुराका साथै मन–मस्तिष्कमा पुराना कुराका सम्झनाहरू अनेकरूपमा हुन सक्छन् तर यस्ता कुरालाई अहिलेको जीवनमा हाबी हुन दिनुहुँदैन ।
सन्तानको कुरा
दोस्रो वैवाहिक जीवनमा व्यवस्थापनको अर्को महत्त्वपूर्ण पक्ष भनेको आफ्नो तथा आफ्नो जीवन साथीको सन्तानको व्यवस्थापन गर्नु हो । सन्तानको उमेरअनुसार व्यवस्थापन फरक–फरक हुन सक्छ । अर्कोतिरको सन्तान छ भने त्यसलाई स्वीकार गर्ने, जिम्मा लिने, माया बाँड्ने गर्नुपर्छ, ताकि त्यसलाई सुखमय बनाउन सहयोग मिलोस् । आफ्ना र उसका सन्तानलाई समान व्यवहार तथा आदर गर्नुपर्छ ।
अनावश्यकरूपमा बढी माया देखाउने गरेमा पनि पुलपुलिएर सन्तान बिग्रन सक्छन् । सन्तान बिग्रनुले अनेक समस्या निम्त्याउँछ । यसले वैवाहिक जीवनमै नकारात्मक असर पार्छ । यसदेखिबाहेक अर्को महत्त्वपूर्ण कुरा के हो भने, सन्तानका छुट्टिएका मातापिताका सन्दर्भमा कहिल्यै नकारात्मक कुरा नगर्नुस् । त्यस्तै अहिलेको नयाँ सम्बन्धबाट सन्तान जन्माउने वा नजन्माउने अनि जन्माउने भए कहिले र कति वटा जन्माउने भन्ने सन्दर्भमा पनि समयमै निर्णय लिनुपर्छ ।्र
0 comments
Write Down Your Responses