वीरगन्जमा प्रहरीको गोली लागि घाइते एकजनाको मृत्यु, झडपमा २३ जना घाइते



अपडेट
वीरगन्ज, भदौ १४ । वीरगन्जमा मधेसी मोर्चा र प्रहरीबीच सोमबार भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

पर्साको श्रीपुर १४ राधेमाई टोलमा प्रहरीले चलाएको गोली लागि घाइते भएका वीरगन्ज–१५ का ३० वर्षीय दिलिप चौरसियाको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार दिनभरको झडपका क्रममा दुबैतर्फ गरी २३ जना घाइते भएका जनाइएको छन । झडपले उग्ररुप लिएपछि वीरगन्जमा सोमबार अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाइएको छ ।

स्थानीय प्रशासनले वीरगन्ज र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । वीरगन्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायरसमेत गरेको थियो ।

रबरको गोली लागेर स्थानीय कृष्णकुमार पटेललगायत घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताले सडक अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

यस्तै, राधेमाई टोलमा प्रहरीले चलाएको गोली लागि दुईजना घाइते भएका छन् ।

विर्तामा उद्योग वाणिज्य संघ वीरगन्जको परिसरमा राखिएको नापी कार्यालयको ना१झ २७९ नम्बरको जिपमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले रानीघाट प्रहरीचौकीको सामान सडकमा ल्याएर जलाइदिएका छन् ।

यता, बाराको कलैयमा निषेधाज्ञा तोड्दै सोमबारै भएको प्रदर्शनमा प्रहरीले चार राउन्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.