अनियन्त्रित बन्दै पूर्वी तराई


- लीलावल्लभ घिमिरे , विराटनगर
सप्तरीमा केही दिनअघि बन्दकर्ताले जलाएकाे ट्रक
भाद्र १२, २०७२- संघीय प्रणालीमा जान मुख्य दलले ल्याएको सीमांकन खाकामा असन्तुष्ट बनेका मधेसवादी दल, विभिन्न संगठन र समूहले साउन अन्तिम सातायता बन्द आह्वान गर्दै आएका छन् । बन्द शान्तिपूर्ण भने पनि अशान्त बन्दै आएको छ । स्वयं आन्दोलनकारी नेताले शान्तिपूर्ण भन्दै आए पनि अनियन्त्रित बन्दैगएको छ ।


सप्तरीको भारदहमा एक आन्दोलनकारीको प्रहरीको गोली लागेर मृत्यु भएपछि उग्र रूप लिँदै आएको छ । मोरङ, सुनसरी, झापा, उदयपुर, सिरहा, सप्तरीलगायत जिल्लामा सयभन्दा बढी सवारी तोडफोड र आगजनी भएका छन् ।
आन्दोलनकारीले १२ सवारीमा आगो लगाए । २० भन्दा बढी तोडफोड भएको छ भने ५० भन्दा बढी मोटरसाइकलमा क्षति पुर्‍याइयो । भदौ ८ पछिका दिनमा भने अघिल्ला दिनको भन्दा बन्द शान्तिपूर्ण रहेको पूर्व क्षेत्रीय प्रहरीले जनाएको छ ।
आन्दोलनकारी दलमध्येको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जयराम यादव आफूहरू शान्तिपूर्ण आन्दोलनबाटै माग पूरा गराउन सक्ने बताउँछन् । ‘आन्दोलन हिंस्रक बनाउनु पर्दैन,’ उनले भने, ‘हामीले धेरै संयम अपनाएका छौं तर सरकारले यसलाई कमजोरी नठानोस् ।’ शान्तिपूर्णलाई सरकारले आन्दोलन नै नठान्ने गरेको उनको आरोप छ ।
‘जब मान्छे मर्न थाल्छन्, गोली चल्छ, आगजनी हुन्छ अनि मात्र सरकारको कान ठाडा हुन्छन्,’ उनले भने, ‘१५ दिनदेखि सबै थोक बन्द छ तर पनि सरकार गम्भीर भएको देखिँदैन ।’ आन्दोलनकारीलाई तोडफोड, आगजनी नगर्न आग्रह गरे ।
पूर्वक्षेत्रीय प्रहरी प्रमुख माधव जोशी सुरुका दिनमा आन्दोलनले हिंसाको बाटो लिए पनि पछिल्ला दिन केही शान्त भएको बताउँछन् । ‘हाम्रो पहिलो प्राथमिकता जन र धनको क्षति रोक्नु हो,’ उनले भने, ‘आन्दोलनले हिंसाको बाटो लिए बल प्रयोग गर्न बाध्य हुन्छौं ।’ उनले पूर्व क्षेत्रका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय भेला गरी बन्दलाई शान्तिपूर्ण बनाउने पहल भएको बताए ।
मोर्चा कार्यकर्ताले सप्तरीको भारदह–१ मा ट्रक तोडफोड गरे भने मिर्चैया नपा–५ मा ना५ख ४४२९ को बसमा पेट्रोल छर्की आगजनी गरेको प्रहरीले जनाएको छ । मिर्चैयामा रहेको सडक विभाग लाहानको रोलरमा आगजनी गरेका थिए । यसैगरी बीआर ०६जी ३१०६ नम्बरको भारतीय ट्रकमा समेत क्षति पुर्‍याएका थिए । यसैगरी भदौ १ गते सप्तरी रायपुर ८ रुपनी चोकमा बन्दकर्ताले कठौना उमाविबाट परीक्षा दिई फर्केका विद्यार्थी चढेको बलेरो तोडफोड गरेका थिए । उक्त दिन नै सप्तरीको राजविराजमा स्वस्थ्यकर्मी चढेको मोटरसाइकलमा आगजनी गरे । यसैगरी सप्तरीको भारदहमा बन्दकर्ताले सशस्त्र प्रहरी बलको गाडीको सिसा फुटाएका थिए । यसैगरी दंगा नियन्त्रण गण दुहबीको बा१ग २५५८ नम्बर गाडीमा पेट्रोल बम प्रहार गरी आगो लगाएका थिए ।
२ गते इलाका प्रशासन कार्यालय लहानमा तोडफोड गरेका थिए । भारदहमा नै उक्त दिन मोटसाइकलमा आगजनी गरी चालकलाई
कुटेर घाइते बनाएका थिए । ४ गते विराटनगर १८ मा रहेको एमएम प्लास्टिक उद्योगको गोदाम घरको भेन्टिलेसनबाट प्लास्टिकको बोतलमा पेट्रोल राखी आगो लगाई अज्ञात समूहले फालिदिएको प्रहरीले जनाएको छ । ५ गते सप्तरी पोर्ताहा ६ मा बन्दकर्ताले ट्रकमा आगजनी गरेका थिए ।
उक्त दिन नै भारदहमा पश्चिम गइरहेको को१ख ३३८९ नम्बर को मिनिट्रकमा आगजनी गरेका थिए । उता सुनसरी दुहबीमा आयल निगमको ट्यांकरमा तोडफोड गरेका थिए । ६ गते अज्ञात समूहले विराटनगर १८ मा रहेको एमएम प्लास्टिकको पश्चिमपट्टिको गेट भित्री कम्पाउन्डमा खैनीको टिनको बट्टामा पटका हाली सुतली पड्काएका थिए । यसै गरी दुहबीमा अन्नपूर्ण पोस्टको पत्रिका बोकेको गाडीको सिसा फुटाएका थिए । ७ गते सप्तरी कञ्चनरूप नपा–७ बन्दकर्ताले बसमा पेट्रोल बम हानेका थिए ।
विराटनगरमा मोर्चाका कार्यकर्ताले ना१झ १२२८ नम्बर गाडीको अगाडिको सिसा फुटाएका थिए । यसै गरी प्रहरीले प्रयोग गरेको को१झ २३८ नं को सिंचाइ कार्यालयको गाडीमा समेत तोडफोड गरेका थिए । भारतबाट धरान जाँदै गरेको को१च १८०४ नंको एम्बुलेन्सलाई अज्ञात समूहले ढुंगामुढा गरेका थिए ।
महोत्तरी संवाददाताका अनुसार अज्ञात समूहले बर्दिबासस्थित राजमार्ग क्षेत्रमा ४ बस र एक ट्रकमा आगजनी गरेको छ । बिहीबार मध्यराति बर्दिबास १ स्थित बरगाछी टोलमा घर नजिकै पार्किङ गरिराखेका ३ वटा बसमा आगजनी भयो । मोर्चामा सहभागी दल तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्माले समेत यस प्रकारको घटनामा मोर्चाको संलग्नता नरहेको बताए ।
ईकान्तिपुर

प्रकाशित: भाद्र १२, २०७२

,

0 comments

Write Down Your Responses

Powered by Blogger.