वैद्य माओवादीको माग : सेना परिचालन फिर्ता गर
मुख्य खबर
, काठमाडौं, ९ भदौ । नेकपा–माओवादीले दंगाक्षेत्र जिल्लामा सेना परिचालन गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।
काठमाडौंको बुद्धनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गरेका हुन् ।
प्रदर्शनकारीहरुको बीचमा सोमबार कैलालीको टीकापुरमा एसएसपी सहित ७ जना सुरक्षाकर्मीको घरेलु हतियार प्रहार गरी विभत्स रुपमा हत्या भएपछि सरकारले दंगाक्षेत्र जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको थियो । यस पछि कैलाली, रौतहट लगायतका दंगाक्षेत्र जिल्लामा सेना परिचालन गरिएको छ ।
टीकापुरमा सोमबार भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष वैद्यले गृहप्रशासनको लापर्बाहीका कारणले सो घटना भएको आरोप लगाए । उनले कैलालीमा प्रशासनको मिलेमतोमा उत्पीडित थारु समुदायलाई दमन गर्न थालिएको भन्दै त्यसलाई रोक्न पनि माग गरे ।
संविधानसभा बाहिर रहेका माओवादी अध्यक्ष वैद्यले सेना परिचालन र निषेधाज्ञा लगाएर ल्याइएको संविधान दिगो नहुने भन्दै आन्दोलनरत सबै पक्षसँग संवादमार्फत समाधान खोज्नु पर्नेमा जोड दिए । साम्प्रदायिक गतिविधिको अन्त्य तथा सामाजिक सद्भाव कायम गर्न पनि अध्यक्ष वैद्यले अपिल गरे ।
अहिलेको संविधानसभाले निकास नदिने बताएका उनले जारी सबै प्रक्रिया रोकेर सर्वपक्षीय राजनीतिक सभामार्फत निकास निकाल्नुपर्नेमा जोड दिए ।
0 comments
Write Down Your Responses