२ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तामा ‘यौनजन्य विकृति’ बढेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा विहीबार सुरु केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको १२ पृष्ठको राजनीतिक प्रतिवेदनमा नेता कार्यकर्तामा ‘यौनजन्य विकृति’ बढेको उल्लेख गरिएको हो ।
प्रचण्डद्वारा प्रस्तुत दस्तावेजको पृष्ठ ८ को पाँचौं अनुच्छेदमा भनिएको छ-’नेता कार्यकर्ताहरुको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्त अपारदर्शी, अराजक, आत्मकेन्द्रित, व्यक्तिवादी, छाडा, उपभोक्तावादी र ढोगी प्रकारको बन्दै गएको छ । यसका साथै यौनजन्य विकृतिलगायत घर परिवार, व्यक्तिगत सम्पत्तिसम्बन्धी धारणा र मूल्य मान्यतामा पनि निकै ठूलो अराजकता र ह्रास आइरहेको छ ।’
एमाओवादी अध्यक्षले पार्टीका कुन नेतामा यौनजन्य विकृति देखियो भन्ने प्रतिवेदनमा खुलाएका छैनन् । प्रचण्डले दस्तावेजमा पार्टीभित्रको विकृतिबारे औंल्याउँदै भनेका छन्, ‘चन्दा, ठगी तस्करी र भ्रष्टाचारजस्ता लम्पेन सर्वहारा चरित्रको विकास हुँदै गएको देखिनुले पार्टी, क्रान्ति र सिंगै समाजका लागि निकै ठूलो खतराको संकेत गर्दछ ।’
प्रचण्डले मूल नेतृत्वबाटै खानपान, लवाइ खवाइ आदिमा रुपान्तरणको गहिरो अनुभूति भएको दस्तावेजमा उल्लेख गरेका छन् ।
झारा टार्ने दस्तावेज
जनयुद्धकालमा लामो र विश्लेषणत्मक दस्तावेज प्रस्तुत गर्ने प्रचण्डले तयार पारेको १२ पृष्ठको प्रतिवेदनमा राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थितिबारे विश्लेषण नगरी सीधै चुनावको समीक्षबाट विषय प्रवेश गरिएको छ । प्रतिवेदन पढेपछि एक पूर्व पोलिटब्यूरो सदस्यले भने, यो त हतारमा लेखिएको झारा टार्ने दस्तावेजजस्तो मात्रै देखियो ।’
सातौं केन्द्रीय समितिको आठौं बैठकमा प्रस्तुत विशेष राजनीतिक एवं संगठनात्मक प्रस्ताव नाम दिइएको यो दस्तावेजमा चुनाव हार्नुका १० बाहिरी कारण र १२ वटा आन्तरिक कारणहरु उल्लेख गरिएका छन् । १२ पृष्ठको दस्तावेजमा ६ पृष्ठ चुनावी पराजयको विलौना गाउनमै खर्च गरिएको छ । ६ देखि ८ पृष्ठसम्म पार्टीभित्रको विकृति, अराजकता र यौनजन्य विकृति आदिको चर्चा गरिएको छ ।
प्रचण्डको दस्तावेजको ९ औं पृष्ठमा पार्टी पुनःनिर्माणको संगठनात्मक कार्ययोजना र तत्कालीन राजनीतिक प्रस्ताव उपशीर्षकमा १० वटा बुँदाहरु उल्लेख गरिएको छ, जसमा हेटौडा महाधिवेशनको विधानलाई समेत खल्बल्याउँदै राज्यसमिति र ब्यूरो संरचना खारेज गर्ने, केन्द्रीय समति ९९ सदस्यीय, जिल्ला कमिटी ५१ सदस्यीय र स्थानीय कमिटी २५ सस्यीय बनाउने प्रस्ताव गरिएको छ । पार्टी सदस्यको परीक्षणकाल आदिबारे उल्लेख गरिएको छ ।
प्रतिवेदनको १० औं पृष्ठमा तात्कालिक राजनीतिक प्रस्ताव अन्तरगत सरकारमा जाने ढोका बन्द नगरिने उल्लेख छ । प्रचण्डको दस्तावेजको दशौं पेष्ठको दोस्रो नम्बर बुँदामा भनिएको छ, राष्ट्रिय सहमतिको सरकारमा जाने ढोका पूरै बन्द गर्नु उपयुक्त हुने छैन ।
प्रचण्डको दस्तावेजका बाँकी तीन पृष्ठमा कार्यशैली र आचरण सुधारे, उत्पादन तथा तथा श्रम कार्यसँग पार्टीलाई जोड्ने विषय, कार्यकर्ताको परिभाषा र कार्यविभाजन, जवस, जातीय क्षेत्रीय मोर्चा, युवा परिचालन, पार्टी एकता, धु्रवीकरण र पुनःनिर्माण तथा अन्तिममा ‘सहीद र वेपत्ता परिवारबारे’ भन्ने उल्लेख गरिएको छ । शहीद र बेपत्ता परिवारलाई अन्तिम प्राथमिकतामा राखिएको छ ।
प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि शुक्रबारदेखि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

0 comments
Write Down Your Responses