किन सुस्ताए हिजो आज रमेश खरेल ?..
काठमाडौं प्रमुख एसएसपी रमेश खरेलका गतिविधि अहिले सुस्त भएका छन् । स्रोतहरूका अनुसार आफ्नै हाइकमाण्डले सस्तो लोकप्रियता देखिने काम नगर्न सचेत गराएपछि उनको उर्जा सिथिल भएको हो ।
काठमाडौं आउँदाका सुरुका दिनमा भन्दा अहिले आफ्नो सक्रियता घटेको चर्चाबारे खरेल भन्छन्, ‘यसबारे मूल्याङ्कन गर्ने जिम्मा जनतालाई नै दिनुस्, यस्तो विषयमा बोल्न मिल्दैन ।’
ramesh kharel–लोमस चापागाईँ
काठमाडौं, ६ जेठ । सँधै चर्चामा आइरहने एसएसपी रमेश खरेल केही समययता सुस्ताएझैं भएका छन् । दोस्रो पटक काठमाडौं प्रहरी प्रमूखको जिम्मेवारी सम्हालेका खरेलले सुरुवाती दिनमा ठूलो चर्चा बटुलेका थिए । पछिल्लो समय उनको चर्चा कम हुन थालेको छ । गुण्डागर्दीविरुद्ध खरो उत्रिएर अपराधकर्मलाई निरुत्साहित गर्न खोजेपछि सर्वत्र तारिफ कमाएका एसएसपी खरेल केही समययता त्यति चर्चामा छैनन् ।
इमान्दार र कडा स्वभावका प्रहरी अधिकृतको छवी बनाएका खरेल गत माघ १४ गते काठमाडौं प्रहरी प्रमुख बनेर आएका थिए । यसअघिका काठमाडौं प्रहरी प्रमूख एसएसपी सुबोध घिमिरेको ठाउँमा उनलाई ल्याइएको थियो । तर, खरेलको आवगमनपछि पनि काठमाडौंमा गुन्डागर्दी, चोरीलगायत आपराधिक घटना नियन्त्रणमा आउन सकेको छैन ।
‘गुण्डागर्दी र चोरीका घटना अझै नियन्त्रण हुन सकिरहेको छैन,’ प्रहरी प्रवक्ता गणेश केसीले भने, ‘प्रहरीले अझै मिहेनत गर्नुपर्ने देखिन्छ ।’ यदपी, संगठित अपराध भने नियन्त्रणमा आएको उनको दाबी छ । काठमाडौंको सुरक्षाव्यवस्था चुनौतिपूर्ण रहेकाले जोसुकै आए पनि काम गर्न गाह्रो हुने उनको बुझाई छ ।
खरेल काठमाडौं आएलगत्तै गणेश लामा, दिपक मनाङे, शुक्रबहादुर लामा ‘बाघे’, सञ्जिव लामालगायत गुण्डा नाइकेहरू धमाधम समातिएका थिए । मनाङे र सञ्जिव लामालाई फागुन २१ गते, बाघेलाई फागुन ११ गते, गणेश लामालाई चैत २२ गते पक्राउ गरिएको थियो । त्यस्तै धेरै प्रकृतिका अपराधमा संलग्न महेश बहादुर सिंह पनि फागुन २३ गते पक्राउ परेका थिए । त्यसैगरि, विभिन्न अपराधमा संलग्न पाँच दर्जनभन्दा बढी पक्राउ परेका थिए । यति हुँदाहुँदै पनि काठमाडौंको अपराध नियन्त्रणमा आउन सकेको छैन ।
खरेलले काठमाडौं आउँदाका सुरुका दिनमा भन्दा अहिले आफ्नो सक्रियता घटेको भन्ने चर्चाबारे टिप्पणी गर्न मानेनन् । ‘यसबारे मूल्याङ्कन गर्ने जिम्मा जनतालाई नै दिनुस्,’ उनले भने, ‘यस्तो विषयमा बोल्न मिल्दैन ।’ काम गर्नलाई कतैबाट बाधा भईरहेको हो कि भनि सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यसबारे पछि बोलौँला ।’
उनी काठमाडौंमा सक्रिय हुन थालेपछि गृहमन्त्री बामदेव गौतमले उनका बारेमा टिप्पणीसमेत गरेका थिए । गौतमले युवा संघ नेपालले काभ्रेमा गरेको एउटा कार्यक्रममा भनेका थिए, ‘एसएसपी खरेल सेलिब्रिटी बन्न खोजिरहेका छन् ।’ त्यसपछि गृहमन्त्री गौतम विवादमा परेका थिए । उक्त प्रकरणकै क्रममा युवा संघले खरेललाई चुनौती दिएको थियो ।
खरेलले काठमाडौं प्रमुख हुनासाथ गुडा नाइकेहरूलाई पक्रे पनि एक साताभन्दा धेरै कसैलाई हिरासतमा राख्न सकेनन् । यसले प्रहरीले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप पनि लाग्न थालेको थियो । प्रहरीको उच्च नेतृत्वले सस्तो लोकप्रियता ठहरिने काम नगर्न खरेललाई सचेत गारएकै हुनाले पनि उनी सुस्ताएका स्रोतको कथन छ ।
एसपी छँदा खरेलले यसअघि पनि काठमाडौं प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका थिए । राजनीतिक दवावका कारण त्यस बेला पनि उनलाई काम गर्न नदिई सरुवा गरिएको चर्चा चलेको थियो । सन् २०१२ अप्रिलमा एसएसपीमा बढुवा भएका खरेलले काठमाडौं, कास्की र पर्साको प्रहरी प्रमुख भइसकेका छन् ।
0 comments
Write Down Your Responses