बोक्सी आरोपमा परिवारै पिटियो
राजविराज, असार ९ - बोक्सीको आरोपमा परिवारै पिटिएको साता बित्न लाग्दा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छैन । सप्तरी बैरवा-४ का अली हुसेन र उनका छोरा उमरले गत सोमबार छिमेकी ३५ वर्षीया हलिया खातुन, उनका भाइ ३० वर्षे मोहम्मद जुदिन र छोरा १५ वर्षे मोहम्मद परवेजलाई कुटपिट गरेका हुन् ।
घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक दीपक कार्कीले 'आरोपी फरार रहेकाले पक्रन नसकेको' बताए । अली र उमरले 'तिम्रो आमा बोक्सी हो, गाउँबाट भगाउनुपर्छ' भन्दै हलियाका छोरा परवेजलाई कुट्न थालेपछि नजिकै रहेका मामा जुदिनले जोगाउन खोजेका थिए । तर, अली र उमरले जुदिनलाई पनि बेहोस हुने गरी पिटेको गाउँलेले बताए ।
घाइते हलिया र परवेजको गाउँमै उपचार भएको छ भने जुदिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचार गराई शनिबार फर्केका छन् । उनको टाउकामा ९ टाँका लगाइएको छ ।
घटनाबारे पीडितले प्रहरीमा सुरुमा मौखिक जानकारी गराएकामा शुक्रबार हलिया खातुनले पीडकको नामसहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएकी थिइन् । उजुरी दिए पनि प्रहरीले पीडकमध्ये कसैलाई पनि पक्रेको छैन । 'आरोपी फरार छन्, खोजी जारी छ,' निरीक्षक कार्कीले भने । पीडित परिवारले भने प्रहरीले पीडकलाई जानाजान पक्राउ नगरेको आरोप लगाएको छ । 'दिनभर अन्यत्र भागे पनि राति आएर घरमै सुत्ने गरेका छन्,' उनीहरूले भने, 'तर प्रहरीले फरार भएको भन्दै पक्राउ गर्न आलटाल गरिरहेको छ ।'
जितेन्द्र खड्गा
ekantipur
0 comments
Write Down Your Responses