लन्डनमा गोरिल्ला दौड
एजेन्सी/ बेलायतको राजधानी लन्डनमा शुक्रबार गोरिल्लाहरूको दौड देखेर लन्डनवासी चकित परे । यसरी दौड गर्नेहरू गोरिल्ला नभएर गोरिल्लाजस्तो देखिने पहिरनमा सजिएका राजधानीवासी थिए ।
६ सयभन्दा बढी व्यक्तिले गोरिल्ला पहिरनमा सजिएर लन्डनका सडकमा दौडिएका थिए । चन्दा संकलन गर्न यस्तो दौड आयोजना गरिएको थियो । दौडबाट एक लाख पाउन्ड रकम संकलन भएको थियो ।
गोरिल्लाहरूको आवास संरक्षणका लागि रकम संकलन गर्न विगत ११ वर्षयता यस्तो दौड हरेक वर्ष आयोजना हुँदै आएको छ । गोरिल्ला लोपोन्मुख प्रजाति भएकाले यसको संरक्षणका लागि लन्डनवासीहरूले यस्तो दौड आयोजना गर्न सुरु गरेका हुन् ।
लन्डनको मिन्सिङ लेन, सेन्ट पल क्याथेड्रल र टावर अफ लन्डनको सेरोफेरोमा दौड आयोजना गरिएको थियो । सहभागीहरूले करिब आठ किलोमिटर दूरी दौडिएर पार गरेका थिए । गोरिल्ला संरक्षण गर्ने एक संस्थाको अग्रसरतामा दौड आयोजना गरिएको थियो ।
दौडमा सहभागी बिल ओडीले भने, ‘संसारमा आठ सय गोरिल्ला मात्र बाँचेका छन् । त्यसैले यिनीहरूको संरक्षण नगरी भएको छैन । यस्तो उत्तम प्रयोजनका लागि गोरिल्ला भएर दौडिन पाउँदा खुसी लागेको छ ।’
0 comments
Write Down Your Responses