'प्रहरीले कुमार घैंटेलार्इ घरैमा पसेर हत्या गर्यो'
२०७२ भाद्र ३ बिहीवार
शिक्षण अस्पतालमा प्रहरी र गृहमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौं : कांग्रेसका सभासद् जगदीशनरसिंह केसीले अपराधकर्म छाडेर सुध्रिसकेका कुमार घैंटेलार्इ गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरिएको आरोप लगाएका छन्। घैंटेमाथिको इन्काउन्टरलगत्तै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका कांग्रेस नेतासमेत रहेका केसीले मास्क लगाएका पाँच जनाको समूहले कुमार घैंटेलार्इ घरैभित्र गोली हानेर हत्या गरेको बताएका हुन् ।
नेता केसीले कुमारलार्इ घरैमा हत्या गरेर प्रहरीले दोहोरो भिडन्तको नाटक गरेको पनि आरोप लगाए । 'प्रहरीले कुमारको हत्या गरेको छ। अपराध गरेको भए सजाय गर्नुपर्नेमा अपराध छाडेर निर्माण व्यवसायमा लागेको मान्छे मारियो', उनले भने, 'मास्क लगाएर आएका प्रहरीले अपराधीको शैलीमा उनको ज्यान लिए । अपराध गर्दा कानुनी कारबाही गर्न छाडेर मान्छे मार्नु कहाँको कानुनीराज हो ?'
यसैबीच ठूलो संख्यामा शिक्षण अस्पतालमा जम्मा भएका कुमार घैंटेका समर्थक र कांग्रेस कार्यकर्ताले हत्याको विरोधमा नाराबाजी गरिरहेका छन् ।
सयौंको संख्यामा जम्मा भएका कांग्रेस कार्यकर्ताले गृहमन्त्री वामदेव गौतम र प्रहरीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।
उनीहरुले प्रहरीले कुमारको ज्यान लिएर अपराध शुरु गरेको आरोप लगाउँदै घटनाको छानविन गर्न पनि माग गरेका छन्।
0 comments
Write Down Your Responses