गिद्धलाई एघार करोड





पिताम्बर सिग्देल |
२०७२ भाद्र १२ शनिबार

सिकारी चरा समूहअन्तर्गतको एउटा अनौठो मांसाहारी चरा हो-गिद्ध। अन्य जीवजन्तु वा पन्छीको भन्दा छुट्टै छ गिद्धले मासु खाने र सिकार गर्ने तरिका । गिद्धले कहिल्यै पनि आफैं सिकार गर्दैन। गिद्धले मरेका जनावरको मासु (सिनो) मात्रै खान्छ।

सिनो र अन्य फालिएका मासुजन्य फोहोरमात्रै खाने हुनाले यसलाई प्रकृतिको कुचीकार पनि भनिन्छ। गिद्धले विभिन्न हानिकारक कीटाणु भएको, सडेको मासु खान्छ र त्यसलाई सजिलै पचाइदिन्छ। यसैले पनि वातावरणीय स्वच्छताका लागि गिद्ध निकै महत्वपूर्ण छ। धार्मिक आस्था र विश्वासमा पनि गिद्धको अलग्गै विशेष महत्व छ।



पर्यावरणीय चक्र व्यवस्थित गर्न यो पन्छीको उपस्थिति अनिवार्य जस्तै हो। गिद्धको अभाव हुँदा प्रकृतिमा सिनो त्यसै कुहिन्छ जसमा भुस्याहा कुकुर, स्याल, मुसा र झिंगा झुम्मिन्छन्। यसले मानिसमा डरलाग्दा रोग निम्तिने खतरा हुन्छ।


रेबिज, प्लेग, हैजा, झाडापखालाजस्ता अनेक किसिमका रोग फैलिनुमा सिनोको अहम् भूमिका हुन्छ । चौपायामा लाग्ने एन्थ्रेक्स, क्षयरोगजस्ता रोग सिनोबाटै फैलिन्छ र यसले महामारीकै रूप पनि लिन सक्छ।

यति महत्वपूर्ण भूमिका भएको पन्छी गिद्धबारे धेरै चासो र चर्चा नभइरहेको अवस्थामा सरकारले भने गिद्ध संरक्षणका लागि पहिलोपटक पाँच वर्षको कार्ययोजना नै सार्वजनिक गरेको छ। मानिस तथा चौपायासमेतलाई डरलाग्दा रोगको संक्रमणबाट बचाउने गिद्ध जोगाउन सरकारले ११ करोड रुपैयाँसहितको छुट्टै पञ्चवर्षीय कार्ययोजना ल्याएको छ।


यस कार्ययोजनाले गिद्धको संख्या बढाउने अपेक्षा गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१९ सम्मका लागि बनाएको कार्ययोजनामा गिद्धका लागि सुरक्षित खाना, उपयुक्त बासस्थानको व्यवस्थापन र संरक्षणले गिद्धको संख्या बढाउँदै जाने प्रमुख लक्ष्य राखिएको छ।

मुख्यगरी गिद्धका लागि सबैभन्दा घातक औषधि डाइक्लोफेनेक नामक विषादीको प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्नु कार्ययोजनाको लक्ष्य छ। 'गिद्धको संख्या नाटकीय रूपमा घट्न थालेपछि सरकारले संरक्षणका लागि पञ्चवर्षीय कार्ययोजना बनाएको हो।

गिद्ध संरक्षण सरकारको प्राथमिकतामा छ', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. महेश्वर ढकालले भने। कार्ययोजना अनुसार, गिद्ध प्रजनन केन्द्रमा पालिएका गिद्धबाट जन्मिएका बच्चा जंगलमा छोड्ने, तथा जनचेतना जागाउने काम विशेष प्राथमिकतामा छन्। प्राकृतिक स्वच्छता कायम गर्ने भएकाले गिद्धलाई पृथ्वीको कुचीकारको रूपमा लिइन्छ।

गिद्धले मरेका पशुपन्छी खाएर वातावरण सफा गर्छ। खानाका लागि यस पन्छी दिनभरि टाढाटाढासम्म घुम्छन्। यसको चुच्चो-नंग्रा तिखा र घुम्रिएको हुन्छ। यसैको सहयोगले मासु लुछ्छन्। सिनो खोज्न तीन सय किमि टाढासम्म उड्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

यिनीहरूले औसत तीन दिनमा एक केजी सिनो खान्छन्। जसअनुसार, एउटा गिद्धले मात्र एक वर्षमा १ सय २० केजी सिनो खपत गर्छ। एउटा गिद्धले सिनो देख्यो भने अरू गिद्धले पनि त्यसलाई पछ्याउँछन् र सामूहिक रूपमै खान्छन्।

बासस्थानसमेत उनीहरूले सामूहिक रूपमा प्रयोग गर्छन्। अग्ला बलिया रूख र चट्टानी पहरा छानेर यिनीहरू गँड लगाउँछन्। तर यिनीहरू मानिसको बस्ती नजिक उचाइ भएका खुल्ला ठाउँ रोज्छन्।

सिनो देखेरै यिनीहरूले आफ्नो खाना भएको पत्ता लगाउन सक्छन्। विभिन्न अध्ययनअनुसार, गिद्धहरू मानिसभन्दा आठ गुणा टाढासम्म देख्न सक्छन । हिन्दू धर्ममा गिद्धलाई शनि देवताको वहानको रूपमा पुजिन्छ।

प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई उसको पञ्जाबाट जोगाउन गिद्धले रक्षकका रूपमा भूमिका निर्वाह गरेको उल्लेख छ। यसैले गिद्धलाई वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचकमात्र होइन लाखौं मानिसको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि मानिन्छ।

गिद्धले जीवनभरिका लागि गुँड बनाउने र बच्चा कोरल्ने काम भाले, पोथी दुवैको समझदारीमा गर्छ।बाहिरबाट हेरेर गिद्धहरूको भालेपोथी छुट्याउन सकिँदैन । केही अवस्थाबाहेक हाडफोर र गोब्रे गिद्धले एक वर्ष (एक प्रजनन अवधि) मा एउटा मात्र फुल पार्छन्।

यिनीहरू असोजदेखि गुँड बनाउने काम सुरु गर्छन् भने ओथारा बस्ने काम करिब ७५ दिनसम्म हुन्छ । गिद्ध बच्चा कोरलेको करिब तीन महिनामा उड्न सक्छ। असोजदेखि गिद्धको प्रजननकार्य सुरु भई जेठ महिनामा बच्चा गुँडबाट उड्न सक्ने हुन्छ।

पछिल्लो अध्ययनअनुसार सन् १९९० देखि हालसम्ममा नेपालमा मात्रै गिद्धको संख्यामा ९५ प्रतिशतले ह्रास आएको छ। बितेको १५ वर्षमा भारतमा डंगर गिद्धको संख्यामा ९९.९ प्रतिशतले कमी आएको छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तानमा विज्ञहरूले गरेको अध्ययनअनुसार, गिद्ध नासिनुको कारण डाइक्लोफेनेक नामको औषधि हो।
गिद्धको अभाव हुँदा प्रकृतिमा सिनो त्यसै कुहिन्छ जसमा भुस्याहा कुकुर, स्याल, मुसा र झिंगा झुम्मिन्छन्। यसले मानिसमा डरलाग्दा रोग निम्तिने खतरा हुन्छ। रेबिज, प्लेग, हैजा, झाडापखालाजस्ता अनेक किसिमका रोग फैलिनुमा सिनोको अहम् भूमिका हुन्छ। चौपायामा लाग्ने एन्थ्रेक्स, क्षयरोगजस्ता रोग सिनोबाटै फैलिन्छ र यसले महामारीकै रूप पनि लिन सक्छ।
दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन्। ती सबै प्रजाति नेपालमा पाइन्छ। यसमध्ये ६ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन्। यिनीहरूले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी तीन प्रजाति हिउँदे आगन्तुकका रूपमा नेपाल आउँछन् र जान्छन्।

नेपालमा पाइने आठ सय ७१ प्रजातिका चरामध्ये नौ प्रजातिका गिद्ध छन्। डेढ दशक अघिसम्म दक्षिण एसियामा लाखौंको संख्यामा गिद्ध पाइन्थे। नेपालको हिमालदेखि तराईसम्मका विभिन्‍न स्थानमा सयौं गिद्धका समूह देख्न पाइन्थ्यो। तर, आजभोलि यो दुर्लभ भइसक्यो।

नेपालमा गरिएको पछिल्लो अध्ययनअनुसार, डंगर गिद्ध ९१ प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले (आईयूसीएन) यसलाई संकटापन्न प्रजातिको सूची (रेड डाटा लिस्ट) मा राखेको छ।

सूचीअनुसार, नेपालमा पाइने सानो खैरो, डगंर, लामो ठुडे र सुन गिद्धलाई अतिसंकटापन्न र सेतो गिद्धलाई संकटापन्न सूचीमा राखिएको छ। वैज्ञानिकहरूका अनुसार, अतिसंककटापन्न सूचीमा परेका प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ। त्यस्तै अन्य प्रजातिका गिद्धहरू पनि संकटको नजिक छन्।

सन् १९९० को मध्यदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धहरूको संख्या घट्नुको मुख्य कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेक हो। वैज्ञानिकहरूले यो तथ्य सन् २००३ तिर पुष्टि गरे।

डाइक्लोफेक १९९० को दशकमा नेपाललगायत दक्षिण एसियामा पशुउपचारको क्षेत्रमा एकछत्र प्रयोग भएको दुखाइ कम गर्ने सबैभन्दा लोकप्रिय औषधि थियो। पशुका विभिन्न अंग सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा सात दिनभित्र मर्दा डाइक्लोफेनेकको विष पशुको सिनोमा हुन्छ।

त्यही सिनो गिद्धले खाँदा त्यो गिद्धको शरीरभित्र प्रवेश गर्छ र गिद्धको मृत्यु हुन्छ। अनुसन्धानअनुसार, डाइक्लोफेनेकले रगतमा युरिक एसिडको मात्रा बढाउछ। मिर्गौलाले युरिक एसिड छान्न नसकेपछि केही दिनभित्रै गिद्ध मर्छ।

गिद्धहरू समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट धेरैमा पर्छ। यही कारणले पनि गिद्धको विनाशले महामारीको रूप लियो। गिद्ध लोप हुनुका अन्य कारणमा बासस्थानको विनाश, आहारामा कमी तथा अन्य विषादीको बढ्दो प्रयोग पनि हो।

अरू जनावरलाई लक्षित गरी सिनोमा राखिएको विष गिद्धले खाँदा पनि गिद्ध मर्ने क्रम बढेको हो। अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत् तार आदिले पनि जीवित सानो संख्यामा रहेका गिद्धहरूलाई झन् संकटमा पारिरहेको विज्ञहरूको निष्कर्ष छ।

गिद्ध विनाशको प्रमुख कारक डाइक्लोफेनक पुष्टि भएपछि नेपाल, भारत र पाकिस्तान सरकारले पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनकको उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगायो।

लुकेर वा झुक्याएर प्रयोग गरे औषधि ऐन २०३५ बमोजिम ३ वर्ष कैद वा रु.पाँच हजार जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ। औषधीमा प्रतिबन्ध लगाएपछि देशका सबै औषधि उत्पादकलाई सुरक्षित वैकल्पिक औषधि मेलोक्सिक्याम उत्पादन गर्न पनि परिपत्र गरिएको थियो।

लोपोन्मुख गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले सन् २००६ मा स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रिय सहभागिता र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा नवलपरासीको पिठौली र कावासोती गाविसमा एसियाकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेस्टुरेन्ट खोलिएको छ।

जटायु रेस्टुरेन्टमा वृद्ध, अशक्त र अलपत्र वा काम नलाग्ने गाईवस्तु किसानहरूबाट संकलन गरी पाल्ने गरिएको छ।प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्यअनुसार चितवन राष्ट्रिय निकुञ्जको कसराको गिद्ध प्रजनन केन्द्र पनि स्थापना भएको छ।

केन्द्रमा राख्‍न डंगर गिद्धका बच्चा कपिलवस्तु, नवलपरासी, रूपन्देही, कास्की, स्याङ्जा, पाल्पा, कञ्चनपुर, अर्घाखाँची, कैलाली, दाङ, कास्कीका जगंलबाट संकलन गरिएको थियो। नेपालमा गिद्धको बासस्थान र घनत्व पश्चिम नेपालमा बढी छ। गिद्ध जोगाउनका लागि सेप्टेम्बर ६ लाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस पनि संसारभरि मनाइन्छ।
annapurnapost

,

0 comments

Write Down Your Responses

Powered by Blogger.