पार्टी सभापति त्यागेरै भए पनि कोइराला प्रधानमन्त्री बन्ने

        sushil_koirala-300x300                           कांग्रेस सभापति सुशील कोइरालाले अर्को वर्ष हुने पार्टीको १३ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भन्दै प्रधानमन्त्रीका लागि आफू सर्वसम्मत हुन कसरत थालेका छन्। वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी देखिएपछि कोइरालाले यस्तो रणनीति अघि सारेका हुन ‘सभापतिले सरकारको नेतृत्वको इच्छा गरेकाले उहाँलाई पार्टीभित्र सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने आधार बनाउनुपर्छ’, कांग्रेस प्रवक्ता रहेका कोइराला निकट नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘तीन नेता बसेर आन्तरिक व्यवस्थापनलगायतका विषय टुंग्याउनुपर्छ।’ पार्टीभित्रै प्रधानमन्त्री को हुने भन्ने विवाद चर्किंदा नकारात्मक सन्देश जाने भएकाले सर्वसम्मतिका लागि नेतृत्व हस्तान्तरण गर्ने नयाँ प्रस्ताव अघि सार्ने निष्कर्षमा कोइराला पुगेको स्रोतले बतायो। देउवाले आगामी महाधिवेशनमा कोइरालाले आफूलाई सघाए प्रधानमन्त्रीका लागि आफूले पनि सहयोग गर्ने संकेत गरेका छन्। ‘महाधिवेशनमा के हुने भन्ने पनि एउटा पक्ष हुन सक्छ तर त्यो पछिको कुरा हो, अहिले पार्टीको आन्तरिक र सरकारभित्रको शक्ति कसरी बाँडफाँट गर्ने भन्ने महत्त्वपूर्ण हो,’ देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने,‘शेरबहादुरजी सकभर सहमतिमै दलको नेता चयन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ तर त्यसका लागि सभापतिले ठोस प्रस्ताव ल्याएर छलफल गर्नुपर्छ।’ कोइरालाले अघिल्लो महाधिवेशनमै आफू एक कार्यकालका लागि मात्रै सभापतिको प्रतिस्पर्धामा रहेको घोषणा गरेका थिए। ‘सभापतिले अघिल्लो महाधिवेशनमा पनि एक कार्यकालमात्रै सभापति हुन्छु भन्नुभएको थियो, ’कोइराला निकट अर्का एक नेताले भने, ‘पार्टीभित्र अरू साथी पनि हुनुहुन्छ, उहाँहरूले पनि नेतृत्व लिने मौका पाउनुपर्छ भन्ने धारणा छ।’ कोइरालाले संविधानसभा पहिलो बैठकअघि नै संसदीय दलको नेता चयनमा देखिएको विवाद टुंग्याउने गरी छलफल सुरु गर्ने भएका छन्। दलको नेता छान्न चुनाउ गराउन नहुने निष्कर्षमा पुगेका कोइरालाले आफू निकट केन्द्रीय सदस्यमार्फत देउवालाई महाधिवेशनमा आफू प्रतिस्पर्धी नहुने सन्देश पठाइसकेको आजको अन्नपुर्ण पोष्टमा खबर छ । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.