काठमाडौं उपत्यका प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा हुने!

काठमाडौँ । काठमाडौं उपत्यकालाई २०७२ सालको प्रारम्भबाटै प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गर्न आवश्यक नीति र संरचनात्मक व्यवस्था गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।
kathmandu-valley-city-ktm-crowed-miss-managed-town-planning-earthquake-water-2
समितिको आजको बैठकले प्लास्टिक झोला नियमन तथा निर्देशिका २०६८ को प्रभावकारी कार्यान्वयन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
वातावरण संरक्षण ऐनले दिएको अधिकार प्रयोग गरी बनाइएको प्लास्टिकका झोलाको गुणस्तरका बारेमा उठेका प्रश्न र त्यसबाट वातावरणमा पुगेको असरलाई मध्यनजर गरेर प्रभावकारी कार्यान्वयनका लागि समितिले प्रधानमन्त्रीको कार्यालयलाई ऐन कार्यान्वयनका लागि निर्देशन गरेको हो ।

प्लास्टिकका झोला उत्पादन गर्ने कारखानालाई कपडा झोला उत्पादन गर्ने कारखानामा परिणत गराउने सम्बन्धमा अध्ययन गरी त्यसको जानकारी समितिमा गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

जुट, कागज, कपडाका झोला उत्पादक र उपभोक्तालाई प्रोत्साहन गर्न र प्लास्टिकका झोला उत्पादक र उपभोक्तालाई निरुत्साहित गर्ने व्यवस्था मिलाउनसमेत मन्त्रालयलाई पत्र लेखी पठाउन समिति सहमत भएको छ ।

न्यूनतम् ३० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाउने तथा खाद्य सामग्रीमा दुधिलो प्लास्टिक प्रयोगमा रोक लगाई प्राकृतिक रङको मात्र प्लास्टिक प्रयोग गर्नका लागि निर्देशिका २०६८ संशोधन गर्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको समितिले जनाएको छ ।

बैठकले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को कार्यान्वयन प्रगतिको विवरणका सम्बन्धमा एक हप्ताभित्र समितिलाई प्रतिवेदन प्रस्तुत गर्न स्थानीय विकास र सहरी विकास मन्त्रालयलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.