सभासद अमरेशकुमार सिंह आफ्नै पार्टीको ‘मोस्ट वान्टेड’ सूचीमा !
शुक्रबार 11 भदौ, 2072
काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंह आफ्नै पार्टीको ‘मोस्ट वान्टेड’ सूचीमा परेका छन् ।
सभासद सिंहलाई पार्टीको अनुशासन समितिले २४ घण्टे स्पष्टिकरणको पत्र काटेको भए पनि उनीसँग सम्पर्क हुन नसकेका कारण पत्र बुझाउन नसकिएको सम्बद्ध स्रोतले जनाएको छ ।
केही दिनअघि कैलालीमा सामाजिक सदभाव बिथोल्ने अभिव्यक्ति दिएको भन्दै पार्टीभित्र उनीमाथि कारवाहीको दबाब बढेको हो । व्यवस्थापिका–संसद बैठकमा पनि अमरेश लगायत तीन नेतामाथि कारवाहीका लागि सांसदहरुले आवाज उठाएका थिए ।
कांग्रेस अनुशासन समितिका कार्यवाहक अध्यक्ष दिलबहादुर घर्तीले सभासद सिंहलाई अझै स्पष्टिकरण मागको पत्र बुझाउन नसकिएको बताए । उनले सिंहसँग सम्पर्क हुन नसकेको स्वीकार गर्दै भने, ‘सम्पर्क नहुँदा पत्र बुझाउन सकिएको छैन ।’
नाम नबताउने शर्तमा कांग्रेसकै एक नेताले भने, ‘अमरेश सिंह केही दिनदेखि बेपत्ता भएका छन् ।’ उनी पार्टी नेतृत्वको सम्पर्कमा समेत नरहेको ती नेताले बताए ।
सभासद सिंह सम्पर्कविहीन भएका कारण स्पष्टिकरणको पत्र कसरी बुझाउने भन्नेबारे नयाँ ढंगले सोच्नुपर्ने ती नेताको भनाई छ ।
imagekhabar
0 comments
Write Down Your Responses