कृषि विकास बैंक ठगी घटनाका मुख्य नाइके फरार, १३ जना पक्राउ
काठमाडाैं-कृषि विकास बैंक ठगी घटनामा १३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । तर, नाइके राजीव थापा भन्ने कृष्णहरि थापा भने फरार नै छन् । सिआइबीले गौतमसहित उनका श्रीमतीहरू सम्झना पोखरेल र जेनी श्रेष्ठ, बैंकका शाखा प्रबन्धक भरत बानियाँ, सहायक कर्मचारी गीता पन्त, रकम लुकाउन सहयोग पुर्याउने सुमन भुजेल र सूर्यबहादुर लिम्बू तथा हुन्डीबाट पैसा पठाउने सन्दीप गुप्ता र रामकुमार कुम्हारलाई पक्राउ गरेको हो ।
गौतमलाई नक्कली कागजपत्रका आधारमा सक्कली नागरिकता र पासपोर्ट बनाउन सहयोग गर्ने भक्तपुर मालपोतका नायबसुब्बाद्वय लक्ष्मी तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजनकुमार नायजु र लेखनदास कृष्णकुमार कटवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध भने नागरिकता ऐनअनुसार प्रहरीले भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि सिआइबीले उनीहरूमाथि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । गौतमले झापाबाट आफू भक्तपुरमा बसाइँ सरेको भन्दै नक्कली लालपुर्जा बनाएर त्यसकै आधारमा भक्तपुरबाट नागरिकता बनाएका थिए । भक्तपुर जिल्ला प्रशासनले झापामा बुझ्दै नबुझी उनको नाममा नागरिकता बनाइदिएको थियो ।
घटनाका मुख्य अभियुक्त राजीव थापा रामेछाप जिल्लाका भए पनि उनी भारतमा रासनकार्ड लिएर उतै बस्दै आएका छन् । उनकै योजनामा बैंक ठगी भएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले बताए । गौतम र थापाबीच अवैध सामान कारोबारको क्रममा करिब १२ वर्ष पहिले नै चिनजान भएको खुलेको छ ।
ठगी भएको धेरै पैसा थापाकै नाममा हुन्डीमार्फत पठाइएको प्रहरीले जनाएको छ । थापाले नै नेपाली मूलका भारतीयको नाममा नक्कली खाता खोलेका थिए । तिनै खाताबाट उपत्यकाबाहिरका शाखाबाट आउँदै नआएको पैसा सिस्टममा आएको देखाएर ठगी भएको थियो । अाजको नयाँ पत्रिकामा समाचार छ ।
ephilokhabar.blogspot
0 comments
Write Down Your Responses