घरबिदा लिएर आन्दोलनको नेतृत्व गर्ने चौधरीमाथि कारवाही हुने
सामान्य प्रशासन मन्त्रालयद्वारा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार
२०७२ भदौ ११ गते १३:४१
कपिल ज्ञवाली
११ भदौ, बुटवल । साउन २९ देखि भदौ २४ सम्मका लागि घरबिदा लिएर आन्दोलनमा होमिएका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर धनीराम चौधरीलाई कारबाही हुने भएको छ ।
अनलाइनखबरको समाचार पछि सामान्य प्रशासन मन्त्रालयले उनलाई कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
हेर्नुस् समाचार : सरकारी अड्डामा घरविदा लिएर आन्दोलनको कमाण्डर
कानुनविपरीत राजनीतिक आन्दोलनमा सरिक हुँदै आएकाले चौधरीलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
‘बिहिबार पत्र नै पठाएर सत्य तथ्य बुझेर कारबाहीका निम्ति प्रकृया अघि बढाउन भनिएको छ,’ सामान्य प्रशासन मन्त्री लालबाबुका स्वकीय सचिव बसिम आलमले अनलाइनखबरसँग भने । उनले प्राविधिक कर्मचारी भौतिक योजनाले हेर्ने भएकाले उसैले कारवाही गर्ने जानकारी दिए ।
धनिराम चौधरीको हाजिरी रजिष्टर । भदौ महिना पूरै उनले विदा लिएका छन् ।
धनिराम चौधरीको हाजिरी रजिष्टर । भदौ महिना पूरै उनले विदा लिएका छन् ।
चौधरी करिब एक वर्षअघि थारू कल्याणकारी सभाको अध्यक्ष बनेका हुन् । उनी सरकारी काममा घरबिदा लिएर आन्दोलनको कमाण्डर बनेका थिए ।
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन विपरीत चौधरी थारू कल्याणकारी सभाको अध्यक्ष भइ थरुहट प्रदेशको माग गर्दै सरकार विरोधी आन्दोलनमा होमिएको प्रमाण भेटेपछि कारवाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
उनी थारू सभासदहरूको मोर्चासहित ४ संगठनको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक पनि हुन् ।
0 comments
Write Down Your Responses