“यौन शोषणबाट वच्न छिटो बिवाह गरें”: शान्ता चौधरी (पूर्व सभासद)




गाउँका अन्य कमलरी असुरक्षित देखेर आमा निकै डराउनुहुन्थ्यो । मेरी आफ्नै दिदी पनि जमिनदारको पन्जामा परिसकेकी थिइन् । त्यसैले पनि आमा चिन्तित हुनुहुन्थ्यो । उमेर पुगेकी,हुर्केकी छोरीलाई अरुको घरमा काम गर्न पठाउने इच्छा त आमाालाई पनि कहाँ थियो र ? तर त्यसो नगरी बाँच्ने अर्को उपाय पनि त थिएन । त्यही चिन्ताले होला आमा दिनदिनै दुब्लाउँदै जान थाल्नुभयो । चिन्ताले घरी–घरी उहाँ बिरामीसमेत पर्नुहुन्थ्यो । मेरै कारण उहाँमा देखिएको यस्तो अवस्थाले मलाई पनि थप चिन्तित बनायो । मैले आमालाई अनावश्यक तनाव थोपरेकी छु कि भन्ने मलाई नै लागिरह्यो । त्यसैले आमालाई यो तनावबाट मुक्ति दिलाउनुपर्छ भन्ने पनि लागिरहेको थियो ।


एक दिन आमाले जमिनदारलाई सोधेर मलाई घरमा बोलाउनुभयो र मेरो बिहे गर्ने कुरा गर्नुभयो । बिहे नगरेसम्म असुरक्षित रहने भन्दै उहाँले मलाई चाँडैै विहेका लागि प्रस्ताव गर्नुभयो । जमिनदारहरुको केरकार र अनुचित व्यवहारले उहाँ हैरान हुनुहुन्थ्यो ।

कलकलाउँदो,रहरलाग्दो हाम्रो जवानी देखेर जो कोहीको मन लोभिने अवस्था थियो । त्यसैले होला जमिनदारका छोरामात्र होइन,जमिनदार स्वयम्को पनि व्यवहार अनुचित पाउँथ्यौ हामी । आमाको प्रस्ताव आए पनि मैले यति छिट्टै बिहे नगर्ने भनें । प्रस्ताव आउँदा भर्खर म १५ बर्षकी मात्र थिएँ । हुन त म आफैलाई असुरक्षित महसुस भइरहेको थियो ।

‘बिहे गर्दिन’भन्ने अडान मैले लिएपछि आमाले पनि ‘जे मन लाग्छ त्यहि गर’भनेर मतलव गर्न छाडिदिनु भयो । साथीहरुको यौन शोषण भएको देखेपछि म पनि चिन्तित थिएँ । यौन शोषणबाट बच्ने उपाय बिहे नै हो कि भने किन नगर्ने भन्ने पनि लाग्न थाल्यो । अनि ‘यौन शोषणबाट सुरक्षा हुन्छ भने म बिहे गर्छु’ भनेर आमालाई सुनाएँ । आमाले पनि ‘बिहे गरेपछि मात्रै तँ सुरक्षित हुन्छेस् अन्यथा तेरो हाल साथीहरुको जस्तो हुन्छ’ भनेर धेरै पटक सम्झाउनुभयो ।

विवाह गर्ने भने पनि कोसँग गर्ने, कहिले गर्ने भन्ने न आफ्नो वशमा हुन्थ्यो न त बावुआमाकै त्यसमा कुनै भुमिका हुन्थ्यो । मेरो विवाहको कुरा सुनेपछि जमिनदारले केटा खोजिसकेको जानकारी आमालाई दियो । जमिनदारले पल्लो जमिनदारको घरमा कमैया बसेको हरिलाल चौधरीसँग बिहे गर्ने प्रस्ताव राख्यो । म पनि हरिललालाई राम्रोसँग चिन्थें । सँगसँगै काम गर्ने भएर होला,एक अर्कालाई हामीले राम्ररी बुझेका पनि थियौ । हाम्रो बीचमा धेरै कुरा पनि मिल्थ्यो । इज्जत लुटिएर पीडा सहनुभन्दा त विवाह नै गर्नु बेस होला भन्ने लागेर मैले स्वीकृति जनाएपछि हरिलाल चौधरीसँग २०५२ सालमा मेरो विवाह भयो ।

आफुले कोसँग बिहे गर्ने भन्ने निर्णय गर्ने अधिकार कमलरीलाई हुने कुरै भएन । मलाई पनि थिएन । त्यसैले जमिनदारले नै बिहे गराइदिए । तामझाम गरेर भोजभतेर गर्ने हैसियत पनि थिएन । बिहे निश्चित गर्नुअघि मलाई सोध्दा पनि सोधिएन । म अलि हकी स्वभावकी भएकाले हुन सक्छ,जमिनदारले नै म काम गर्ने ठाउँमा हरिलाललाई पटकपटक आउजाउ गर्ने वातावरण पनि मिलाएको रहेछ । जुन कुरा मलाई पछिमात्र थाहा भयो । हरिलालकी बहिनी चमेली मेरी साथी हुन् । त्यसैले आमाले चमेलीको दाइसँग तेरो बिहे गर्ने हो , असाध्यै मेहनती छ भनेर निकै सम्झाइबुझाइ गर्नुभयो । जमिनदारले पनि त्यो केटो साह्रै असल छ,बिहे गरे हुन्छ भनेर सम्झाए । त्यसपछि ठीकै छ नि त भनेर बिहे गरियो ।

बिहेअघि पनि हरिलालसँग चिनजान मात्र हैन,ैकैयौ पटक काममा सँगै गएका थियौ ।दुःख सुखका कुरा पनि भएकै हुन । तर एकापसमा बिहे गर्नेबारे भने मैले सोचेकी पनि थिइनँ । न उनीसँग बिताएका क्षणमा बिहे,यौन आदिबारे कुनै तरङ्ग नै सृर्जिए । तर जिन्दगी सोचेअनुसार कहाँ चल्दोरहेछ र ? आज बिहेको कुरा पक्का भयो । भोलिपल्टै डिउहारमा लगेर सिन्दुर हालेपछि बिहे सकियो । सुङ्गुरको मासु ल्याएर सानोतिनो भोज खुवाइयो । यसपछि सुखका थुपै्र परिकल्पना मनमा भित्रिए एकातिर भने अर्कातिर यौन शोषणमा पर्नु नपर्ने कुराले पनि म ढुक्क भएँ ।

(शान्ता चौधरीको पुस्तक कमलरीदेखि सभासद्सम्म पुस्तकबाट)

,

0 comments

Write Down Your Responses

Powered by Blogger.