देहव्यापारको जन्जाल
अनिता शाह, काठमाडौं
भाद्र १४, २०७२- साउन महिना भर्खरै सकिएको छ । हातमा मेहेन्दीको रङ गाढै छ । हरियो चुरा अनि हरियो र पहेँलो रङको कुर्तामा सजिएकी । चकटीमा बस्दा कालो सुन्दर बाटेको कपालले भुँइ छुने । हातमा झोला समाएकी, कुनै महत्वपूर्ण सामान भएझैँ । मेरो अगाडी आएर टुसुक्क बसिन रीता (नाम परिवर्तन) ।
रीताको आमाबाबु रोगी छन्, दाइ पढ्दा पढ्दै वेपत्ता भए । १३ वर्षको उमेरमा परिवारको जिम्मेवारी उनको काँधमा आइलाग्यो । जसोतसो एसएलसी परिक्षा दिएपनि अनुत्तिर्ण भइन् । के गर्ने अन्यौलमा रहेकी रीतालाई काठमाडौं गएर पैसा कमाउने सपना सजाइ दिइन् एक छिमेकी दिदीले । ‘तर काठमाडौं सोचे भन्दा धेरै गुणा फरक पाएँ,’ रीता गुनासो गर्छिन् । एक होटलमा भाँडा माझने काम पाएकी रीतालाई एक वर्षभन्दा बढी यौन क्रियाकलापमा पनि लगाइयो ।
आज समय फेरिएको छ । मानव बेच बिखनमा महिलाहरुको हकहितका लागि काम गर्दै आएको गैरसरकारी संस्था चेन्ज नेपालले १९ वर्षिय रीतालाई त्यो सञ्जालबाट मुक्त गर्न सफल भयो । ‘सिलाईको तालिम लिइसकेँ, अब त राम्ररी कपडा सिलाउन आउँछ मलाई,’ उनी हाँस्दै भन्छिन्, ‘यहाँ आएदेखि आत्मबल बढेको छ । बिना पढाइ केही नहुने रैछ । अब घर फर्केर पढाइ गर्छु । जसरी भएपनि एलएलसी पास गर्छु ।’
२२ वर्षे भावना (नाम परिवर्तन) को कथा भने अलि फरक छ । बुबाले उनलाई जब, ‘तँ मेरो छोरी होइनस्,’ भनेर भने तब उनलाई घर बस्न मन लागेन र घर छोडेर काठमाडौं आइन् । एक्लो ज्यान आफैँ पाल्ने हिम्मतका साथ ठमेलको एउटा मसाज सेन्टरमा काम गर्न थालिन् । तर उनले त्यहाँ आफ्नो शरिर अरुलाई सुम्पिनु पर्यो । ‘धेरैलाई आफ्नो शरिर दिऐ बापत मैले न पैसा पाएँ न राम्रो खान नै,’ उनी टोलाउँदै भन्छिन्, ‘म जब उनीहरुलाई गर्दिन भन्थेँ, मलाई खुब पिट्थे । जीउ भरी निल डाम हुन्थ्यो । त्यसलाई हेरेर रुन पनि सक्दिनथेँ ।’
देहव्यापारले काठमाडौंलाई भूसको आगो सरी भित्रभित्रै सल्काएको छ । मजास सेन्टर, गेष्ट हाउस, क्याविन हुँदै देह व्यापारको जालो कटेजसम्म पुगेको छ । देहव्यापारमा संलग्नहरु कति छन् । तथ्याङक छैन । बढ्दो महंगी र बेरोजगारीले यौन व्यवसायमा लाग्नेहरुको संख्यामा बढोत्तरी भइरहेको छ । काठमाडौंका यौनकर्मीहरु मध्ये ९० प्रतिशत बाध्यताका कारण यौन व्यवसायमा लागेको रक्षा नेपालले गरेको एक अध्ययनले देखाउँछ । उनीहरु मध्ये अधिकांश शिक्षित छैनन् र गाउँबाट शहरमा अवसरको खोजीमा आएका हुन् । महंगीमा बेरोजगारीले पेलेपछि उनीहरु जिउ बेच्न बाध्य भएका छन् । यौन धन्दालाई नेपाली समाजले बाहिरी रुपमा स्विकारेको छैन । तर बढ्दो यौनजन्य अपराधका कारण यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने आवाज पनि उठिरहेको छ । ‘बेरोजगारी र राजनीतिक अस्थिरताका कारण नपढेका युवतीमात्रै होइन शहरका पढेलेखेका घराना भन्ने महिलाहरु पनि यो पेशामा संलग्न छन्,’ रक्षा नेपालका अध्यक्ष मेनुका थापा भन्छिन्, ‘फरक ठाउँ, तर शैली उही ।’ पछिल्ला केही वर्ष प्रहरीले मसाजमा निगरानी बढाउन थालेपछि त्यहाँबाट भागेका साहुहरु राजधानी बाहिर केन्द्रीत हुन थालेको थापा दाबी गर्छिन् । नयाँ बन्न लागेको संविधानमा यो विषयलाई सम्बोधन गर्नुपर्ने उनी बताउँछिन् ।
अस्थिर राजनीतिले निम्त्याएको द्वन्द्वले यौन व्यवसायलाई झनै बढावा दिएको प्रष्ट देखिन्छ । नेपालमा अहिले पनि दशौं हजार महिला र बालबालिकहरु असुरक्षित र अमर्यादित काममा बाध्यतावश संलग्न हुनु परिरहेको छ । उनीहरु भित्र समाजका हरेक पेशा, स्तर र पक्षबाट गरिएका हिंसा, यातना र अन्यायका असंख्य पीडाका कथाहरु गुम्सिएका छन् ।
कान्तिपुर
0 comments
Write Down Your Responses