नेपालमै बन्न सक्छ सर्पदंशको औषधि

काठमाडौ- सरकारले प्रभावकारी योजना बनाएर अघि बढे थोरै लगानीमै सर्पको टोकाइविरुद्धको औषधि (स्नेक एन्टिभेनम) मुलुकमै उत्पादन गर्न सकिने विज्ञहरूले बताएका छन् । गर्मीयाममा सर्पदंशको प्रभाव बढ्ने गरे पनि तीन वर्षदेखि मुलुकमा सर्पदंशविरुद्ध दिइने औषधिको अभाव छ । ‘औषधि उत्पादन जटिल प्रक्रिया होइन । मुलुकमा सर्प र घोडा छँदैछन् । एउटा प्लान्ट मात्र किन्ने हो भने सजिलै सर्पदंशविरुद्धको औषधि उत्पादन गर्न सकिन्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘भारतलगायत मुलुकबाट स्नेक एन्टिभेनममा काम गरिसकेका सेवानिवृत्त विशेषज्ञहरूलाई करारमा राखेर विदेशमा समेत निर्यात गर्ने हिसाबले उत्पादन गर्न सकिन्छ ।’ भारतले विश्वका २ सय २ मुलुकमा स्नेक एन्टिभेनम निर्यात गर्दै आएको छ । महाशाखाले सर्पको विषप्रतिरोधक उत्पादनसम्बन्धी आधारभूत कामका लागि यस वर्षको बजेटमा २ करोड रुपैयाँ पारिदिन अर्थ मन्त्रालयलाई प्रस्ताव पठाएको छ । इपिडिमियोलजीका डा. जितेन्द्रमान श्रेष्ठले सर्प र घोडाको फार्मका साथै प्लान्ट स्थापना गर्न करिब ५० करोड रुपैयाँ भए पुग्ने बताए । फार्म स्थापनाका लागि करिब ३० रोपनी र प्लान्टका लागि जग्गा सरकारले नै उपलब्ध गराए निकै कम लगानी भए पुग्छ । मुलुकभित्र हाल बर्सेनि ३० हजार भाइल भेनम आवश्यक पर्छ । प्लान्ट बनाए योभन्दा बढी परिणाममा भेनम उत्पादन गरी निर्यातसमेत गर्न सकिन्छ । स्नेक एन्टिभेनम मुलुकमै उत्पादन गर्ने प्रक्रियामा योजना आयोग, अर्थ र स्वास्थ्य मन्त्रालयले खासै चासो नदेखाएको सरोकारवालाले बताए । मुस्ताङ, मनाङमा घोडा फार्म र बर्दिबास, चितवनलगायत ठाउँमा सर्प फार्म खोल्न सकिने जनाउँदै डा. मरासिनीले भने, ‘सरकारलगायत सबै पक्षले सघाए मुलुकमै तीन/चार वर्षभित्र भेनम उत्पादन गर्न सकिन्छ ।’ भेनम उत्पादनमा सरकार मात्र नभई निजी क्षेत्रको समेत सहयोग लिन सकिने मरासिनीले बताए । ‘बर्सेनि विष प्रतिरोधकको अभावसँग जुध्नुभन्दा सरकारले उत्पादन थालेर दिगो समाधान खोज्नुपर्छ,’ इपिडिमियोलजिस्ट डा. मानसकुमार बनर्जीले भने, ‘मागको दाँजोमा उत्पादनमा कमीले भारतले आफ्नै लागि समेत उत्पादन पुर्‍याउन सकिरहेको छैन । त्यसैले भेनमको अभाव आगामी दिनमा अझ बढी मात्रामा देखिने छ ।’ भारतमा सरकारले नै भेनम उत्पादन गर्छ । मुलुकमा बर्सेनि करिब ३० हजार भाइल भेनम आवश्यक हुन्छ । गर्मीयाममा ४५ वर्षमुनिका व्यक्ति बढी मात्रामा सर्पदंशको चपेटामा पर्ने अध्ययनले देखाएको छ । एक जनामा पोली भेलेन्ट एन्टिस्नेक भेनम -चार थरीको विषालु सर्पका लागि दिइने एउटै विष प्रतिरोधक) को औसत आवश्यकता १६ भाइलसम्म हुन्छ । यो विष प्रतिरोधकको एक जनामा अधिकतम उपयोग ३० भाइलसम्म हुने गर्छ । विश्वभर ३ हजार ४ सय प्रजातिका सर्प भए पनि हामीकहाँ करिब ८९ प्रजाति पाइएको तथ्यांक छ । यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छन् । कसरी बनाइन्छ एन्टिस्नेक भेनम ? सर्पको विष प्रतिरोधक (एन्टिस्नेक भेनम) एउटा जैविक उत्पादन हो । यो सर्पको विष प्रतिरोधका क्रममा घोडा वा भेडाको शरीरमा बन्ने प्रतिरक्षात्मक पदार्थ (एन्टिबडी) हो । भेनम उत्पादनका लागि सबैभन्दा पहिले घोडाको शरीरमा वैज्ञानिक प्रक्रिया अनुसार सर्पको विषको सामान्य मात्रा प्रवेश गराइन्छ । त्यसपछि घोडाको शरीरले उक्त विषबाट आफूलाई जोगाउन एउटा सिरम उत्पादन गर्छ । त्यसलाई घोडाको रगतबाट छुट्टयाएर स्नेक एन्टिभेनम बनाइन्छ । विभिन्न तथ्यपत्रहरूका अनुसार जनावरलाई अलि-अलि गरेर सर्पको विष दिइयो र मात्रा क्रमशः बढाइयो भने केही दिनमै तिनको रगतमा यस्तो गुण आउँछ कि, सर्पले टोके पनि केही फरक पर्दैन । यस्तो स्थितिमा पुगेको जनावरको रगतबाटै विष काट्ने सिरम तयार पारिन्छ । सर्पको विष निकालेपछि त्यसलाई माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा जमाइन्छ । त्यसपछि विषबाट पानी छुट्टयाएपछि यो सुख्खा पदार्थ बन्छ । सुख्खा विष ओसारपसार गर्न सजिलो हुन्छ । त्यसपछि घोडालगायत स्वस्थ जनावरलाई सूक्ष्म मात्रामा इन्जेक्सनमार्फत विष दिइन्छ । यसबाट घोडामा रोग प्रतिरोधी प्रणाली सक्रिय भई विषविरुद्घ एन्टिबडी बन्न थाल्छ । ‘सर्प फार्म स्थापना गरी त्यहाँबाट विष संग्रह गरेर शुद्घीकरण गर्नुपर्छ,’ डा. श्रेष्ठले भने, ‘सर्पको प्रशोधित विष वैज्ञानिक प्रक्रिया -हाइपर इम्युनाइजेसन सेड्युल) अनुसार घोडालाई लगाइन्छ ।’ डा. श्रेष्ठका अनुसार त्यसपछि घोडाको रगत संकलन गरेर त्यसबाट प्लाज्मा छुट्टयाइन्छ । डेढ दुई महिनाभित्र घोडाको रगतमा पर्याप्त मात्रामा एन्टिबडी निर्माण हुन्छ । त्यसपछि घोडाको रगत निकालिने एन्टिबडी पुनः प्रशोधित गरेर स्नेक एन्टिभेनम सिरम बनाइन्छ ।snake विष प्रतिरोधक तयार गर्न वैज्ञानिकहरूले घोडालाई सबैभन्दा उपयुक्त मानेका छन् । सबै स्थिति अनुकूल रहे एउटा घोडाबाट एक पटकमा करिब १६ सय भाइल औषधि निर्माण गर्न सकिन्छ । ३० हजार भाइल औषधि निर्माण गर्न साढे ३ देखि ८ वर्षसम्मका करिब २० वटा स्वस्थ घोडा भए पुग्छ । भेन्टिलेटरबाट जोगाउन सकिने स्नेक एन्टिभेनम उपलब्ध नभए भेन्टिलेटरको सहयोगले पनि विषालु सर्पले टोकेकाहरूको ज्यान जोगाउन सकिने विज्ञहरूले बताएका छन् । ‘विष प्रतिरोधक नभए पनि सर्पको विषको प्रकृतिअनुसार कृत्रिम श्वासप्रश्वास यन्त्रमा बिरामीलाई राख्ने क्षमता भएको स्वास्थ्य संस्थामा बिरामी बाँच्न सक्छन्,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डा. सञ्जीवकुमार शर्माले भने, ‘थाइल्यान्डमा भेनम सकिएर हाम्रो मुलुकको जस्तै स्थिति हुँदा अस्पतालहरूले सर्पदंश पीडितलाई औसत तीन दिनसम्म भेन्टिलेटरमा राखेर ज्यान जोगाएका थिए ।’ हाम्रो मुलुकमा पाइने विषालु सर्पले डसेका बिरामीहरूको मृत्यु प्रायः सास फेर्न नसकेर हुने गरेको छ । ‘यस्ता रोगीको मुखमा पाइप छिराएर कृत्रिम श्वासप्रश्वास यन्त्रमा राख्न सके उनीहरू बाँच्छन्,’ डा. शर्माले भने । सर्पको विषले श्वासप्रश्वासलाई प्रभावित गर्ने स्नायुको मांशपेसीको जोर्नीमा प्रभाव पार्छ र पक्षघात गराउँछ । ‘विषको प्रभावले नष्ट स्नायु केही समयपछि आफैं पलाउँछ,’ उनले भने, ‘तर नयाँ स्नायु पलाउन्जेल बिरामीलाई जीवित राख्न कृत्रिम श्वासप्रश्वास यन्त्रमा राख्नुपर्छ ।’ कडा विष भएका सर्पमध्ये गोमनले डसे विष प्रतिरोधक नभएको अवस्थामा बिरामीलाई २४ देखि ४८ घन्टासम्म र करेतले डसे तीन दिनदेखि दुई सातासम्म भेन्टिलेटरमा राख्नुपर्छ । आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको खबर छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.