टीकापुरमा मारिएका एएसपीको परिवारसँग बाबुरामको भेटघाट
काठमाडौं, 14 भदौ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको परिवारसँग एमाओवादीका वरिष्ठ नेता तथा संवाद समितिका सभापति डा.बाबुराम भट्टराईले भेटघाट गरेर सान्त्वना दिएका छन् ।
भेटघाटको क्रममा न्यौपानेका परिवारले उक्त घटनाको निष्पक्ष ढंगले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याइयोस् भन्ने माग राखेको भट्टराईले बताएका छन् । नेता भट्टराईले भेटघाटपछि भने, ‘घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने परिवारको मागलाई राज्यले विशेष गम्भीरतापूर्वक लेओस् ।’
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता डा भट्टराईले टिकापुर घटनाका दोषीलाई कारवाही गर्न आफ्नो पार्टीका तर्फबाट सरकारलाई आग्रह गरिसकेको समेत सो अवसरमा जानकारी गराएका थिए ।
उक्त घटनाको छानबिन गर्नुपर्ने र पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने बताउँदै न्यौपाने परिवारलाई धैर्यधारण गर्न आग्रह गरेका थिए ।
न्यौपानेका छोरा सन्देश पौडेलले पूर्व प्रधानमन्त्री डा भट्टराई समक्ष निहत्था आफ्ना बाबुलाई अमानवीय यातना दिएर मार्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका थिए ।
नेता भट्टराईले घटनाको बारेमा छुद्र राजनीति गरिएको भन्दै त्यसको विरोध गरेका छन् । उनले भनेका छन्, ‘यस्तो अत्यन्त दु:खद र खेदजनक घटनामा पनि छुद्र राजनीति गर्ने र एमाओवादीलाई दुरासयपूर्ण ढंगले जबर्जस्ती मुछेर वास्तविक मुद्दालाई ढाकछोप गर्ने प्रवृत्तिसंग सबै सतर्क रहौं ।’
आइतबार नै नेकपा एमालेका सचिव योगेश भट्टराईले टीकापुर घटनामा एमाओवादी र विशेषगरी सचिव अनन्त र अर्का नेता प्रभाकरको संलग्नता रहेको आरोप लगाएका थिए । भट्टराईको उक्त आरोपलाई एमाले अध्यक्ष ओलीले एमाले एमाओवादीमा कटुता ल्याउने षड्यन्त्रपूर्वक भनाईको संज्ञा दिएका छन् ।
sajhapost
0 comments
Write Down Your Responses